माघ १२ , बारा
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेरहद २० वर्षबाट २ वर्ष घटाएर १८ वर्षमा झार्न दिएको सुझावको विरुद्धमा बारा जिल्लाका विभिन्न समाजिक संस्था, बाल क्लब तथा किशोरी समुहका प्रतिनिधिहरुको यसको विरोध स्वरुप ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएका छन ।
बाल विवाहको क्षेत्रमा कार्यरत संस्था सखी ः महिलाको साथी , हाम्रो प्रयास तथा मधेश प्रदेशका विभिन्न संस्थाहरु सदस्य रहेको बाल विवाह विरुद्धको प्रादेशिक संजाल मार्फत पनि अपिल पत्र सार्वजनिक गर्दै यसको विरोध गरेका छन ।
नेपालको संविधान, राष्ट्रिय बालबालिका नीति, २०८०स बालबालिकासम्बन्धी ऐन, २०७५स मुलुकी अपराधसंहिता, २०७४, तथा बालबालिकासम्बन्धी नियमावली, २०७८स स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालविवाह विरुद्धको रणनीति, २०७२ लगायत अन्य कानुन पनि बालविवाह अन्त्यका लागि कार्यान्वयनमा रहेका छन् ।
२०७२ सालमा जारी भएको नेपालको संविधानले बालविवाहलाई पहिलो पटक बालअधिकार हननको विषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ । बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ र महिलामाथि हुने सबै प्रकारका विभेदहरूको अन्त्य गर्ने महासन्धि, १९७९ लाई नेपाल सरकारले अनुमोदन गरी बालबालिका र महिलाको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता रहेको अवस्थामा विवाहको उमेरहद २० वर्षभन्दा कम गर्नु उचित नरहेको कुरा सखी संस्थाकी अध्यक्ष मधु कुशवाहाले जनाइन ।
विगतमा भएका विभिन्न अध्ययन, अनुसन्धान अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक परिपक्वता लगायतका दृष्टिकोणले विवाहको उमेर २० कायम गरी नीति नियम र ऐन कानुनहरू तय गरिएको हो। कम उमेरमा विवाह हुँदा छिटो गर्भवती हुने, त्यसो हुदाँ बालबालिकाको मृत्यु हुन सक्ने, गर्भवती आमा र बच्चा दुवैको स्वास्थमा असर पुग्ने जोखिम धेरै रहन्छ तथा उनीहरुको स्वास्थ, शिक्षामा समेत प्रत्यक्ष असर गर्ने हुनाले विवाहको उमेर घटाउनु उचित नरहेको जिकिर हाम्रो प्रयासका कार्यक्रम संयोजक प्रसंशा सिंहले गरेका छन । उहाँका अनुसार आजको यस्तो प्रगतिशिल युगमा विवाहको उमेर अझ बढाउनु पर्ने स्थानमा उमेरहद कम गर्ने कुरा युग सान्दिर्भिक नरहेको बताइन ।
यसैगरि सखी संस्थाकी कार्यकारी निर्देशक प्रियंका कुमारी कुशवाहाले सबभन्दा बढी बाल विवाह दलित, गरिब, पिछडिएको तथा सिमान्तकृत समुदायमा अशिक्षा, अज्ञानता तथा जनचेतनाको अभावले गर्दा हुने गर्दछ । यि समुदायमा बालविवाहले बालबालिका तथा किशोरकिशोरीलाई आधारभूत अधिकारबाट मात्र बञ्चित गराउँदैन, उनीहरू आफ्नो भविष्यको कैरियर छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि वञ्चित गर्दछ जसले उनीहरूको जीवनचक्रमा थुप्रै अधिकार उल्ङ्घनको श्रृंखला सिर्जना गर्दछ जसले उनीहरुको बैवाहिक जीवन दिगो नहुने, परिपक्क नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरू देखिने, लैङ्गिक हिंसा , घरेलु हिंसा जस्ता घटनाले उनीहरुको जीवन नै वर्वाद हुने अवस्था समेत देखिएकोले विवाहको उमेर नघटाउनु नै उचित देखिएकोले हामी यसको विरोध गरेको जानकारी गराई ।