कलैया ५मसिर: कलैया उपमहानगरपालिका-१२ धर्मनगरस्थित वडा कार्यालयमा सामाजिक परिवर्तन केन्द्रको सहकार्यमा लागू औषध नियन्त्रणसम्बन्धी संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा सदस्य राममिश्वर कुश्वाहाको अध्यक्षतामा सञ्चालन भएको हो।

छलफलका क्रममा सहभागी हिर्देनारायण यादवले अभिभावकको शिक्षाको कमी र कमजोर पर्यवेक्षणले बालबालिका कुलततर्फ आकर्षित हुने धारणा राखे। त्यस्तै, उर्मिला देवीले सामाजिक द्वन्द्व र असुरक्षित वातावरणले टोलका बालबालिकालाई गलत बाटोतर्फ धकेल्ने बताइन्।

सहभागीहरूले समुदायस्तरमै लागू औषध नियन्त्रणका लागि विशेष समिति गठन गर्ने, कानुनी उपायहरू कडाइका साथ लागू गर्ने, तथा टोल-टोलमा निरन्तर जनचेतनामूलक सभा, गोष्ठी र घरदैलो अभियान सञ्चालन गर्ने सुझावहरू पनि अघि सारे।

कार्यक्रमबारे जानकारी दिँदै सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिकी कुश्वाहाले लागू औषध नियन्त्रणमा सामुदायिक सहभागिता नै दीर्घकालीन समाधानको मुख्य आधार भएको उल्लेख गरे।

