गहुँको बीउ–मल आपूर्तिका लागि जोतपुरमा संवाद कार्यक्रम सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 214
पढ्न लाग्ने समाय 2 मि.

फेटा गाउँपालिका–५ जोतपुरस्थित वडा कार्यालयमा सामाजिक परिवर्तन केन्द्रको सहकार्यमा किसानका लागि गहुँको बीउ र मलखाद समयमै आपूर्तिका विषयमा केन्द्रित संवाद कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम वडा अध्यक्ष अयुब आन्सारीको अध्यक्षतामा सम्पन्न गरिएको हो।

कार्यक्रममा जोतपुर टोलका स्थानीय बासिन्दा, वडा सदस्य फर्जुलहक अन्सारी, फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाका कृषि प्राविधिक सन्जय कुश्वाहा सहित करिब ४१ जनाको सहभागिता रहेको थियो। संवादमा किसानहरूले भोग्दै आएका विभिन्न समस्याहरू तथा तिनका समाधानका उपायहरूबारे विस्तृत रूपमा छलफल गरिएको थियो।

सहभागी मदिना खातुनले शिक्षाको कमी, आवश्यकताअनुसार मल नपाइने, समयमा बीउ नआउने, सिँचाइ सुविधा कमजोर रहेको तथा बिसादीको जथाभावी प्रयोगजस्ता समस्याहरू उठाइन्। त्यस्तै, वडा सदस्य फर्जुलहक अन्सारीले बालीमा रोग–किरा लाग्ने समस्या तथा माटो कमजोर हुँदै जाने अवस्थाबारे ध्यानाकर्षण गराए।

छलफलका क्रममा सहकारी वा समूहमार्फत बीउ वृद्धि गरी ‘बीउ बैंक’ स्थापना गर्ने, बिसादीको अनियन्त्रित प्रयोग रोक्न गाउँस्तरमा आई.पी.एम. सहजकर्ता वा कृषि प्राविधिक राख्ने, रासायनिक मल प्राविधिक सिफारिस अनुसार प्रयोग गर्न तथा गोठेमल–प्रांगारिक मलको प्रयोग बढाउन सुझावहरू राखिए। सिँचाइ समस्याको दीर्घकालीन समाधानका लागि कुलो तथा नदी–नाला मुहान संरक्षण, पोखरी व्यवस्थापन, सतह सिँचाइको प्रवर्द्धन तथा आवश्यक स्थानमा विद्युतिकरणको प्रस्तावहरू पनि अघि आए।

 

रोग तथा किराको प्रकोप नियन्त्रणका लागि जैविक र यान्त्रिक विधि अपनाउने तथा कृषि प्राविधिकको नियमित सल्लाह लिनुपर्नेमा सहभागीहरू एकमत रहे।

कार्यक्रमबारे जानकारी दिँदै सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिकी कुश्वाहाले गहुँको बीउ र मलखाद समयमै आपूर्ति, वैज्ञानिक खेती पद्धति, प्राविधिक सल्लाह, सुरक्षित र दिगो कृषि प्रविधि अपनाउनुपर्नेमा जोड दिँदै ती पाँचै पक्षले कृषि उत्पादन र किसानको आम्दानी वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

शेयर गर्नुहोस