विवाह पञ्चमी२०८२ को अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना

सखीखबर डट कम
पाठक संख्या - 183
पढ्न लाग्ने समाय 2 मि.

मंसिर ९, काठमाडौं : विवाह पञ्चमी-२०८२ को पावन अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्नुभएको छ।

उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा विवाह पञ्चमी भगवान श्रीराम र माता सीताको दिव्य विवाहको स्मरण गर्ने विशेष अवसर भएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार यस पर्वले प्रेम, आदर, सदाचार, विश्वास र सद्भावजस्ता मूल्यलाई उजागर गर्दै धार्मिक आस्था र सांस्कृतिक एकतालाई मजबुत बनाउँदै आएको छ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा परम्परागत रूपमा मनाइने साताव्यापी विवाह पञ्चमी महोत्सव नेपालको मौलिक संस्कृति र सामाजिक एकताको प्रतीकका रूपमा स्थापित छ। राम–सीताको प्रतिमा तथा झाँकीसहित ‘नगरदर्शन’ बाट आरम्भ हुने यो उत्सव ‘फुलबारी लीला’, ‘धनुष यज्ञ’, ‘तिलकोत्सव’, ‘मटकोर’, ‘राम-सीताको स्वयम्बर–विवाह’ जस्ता धार्मिक अनुष्ठान हुँदै अन्तिम दिन ‘रामकलेवा’सँगै सम्पन्न हुन्छ।

यसबाहेक लोकनृत्य, लोकगीत–संगीत, मौलिक झाँकी, भजन,कीर्तनजस्ता कार्यक्रमले देशभरका समुदायबीच एकता र सांस्कृतिक समृद्धि विस्तारमा योगदान पुर्‍याउने उपराष्ट्रपतिको भनाइ छ।

भारतको अयोध्याबाट सन्त,महन्थसहित जन्ती जनकपुरधाम आउने परम्पराले नेपाल–भारतबीचको ऐतिहासिक, रोटीबेटी, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आएको उल्लेख गर्दै उहाँले यस सम्बन्धको निरन्तरतामा विश्वास व्यक्त गर्नुभएको छ।

अन्त्यमा, सीता,रामको विशेष पूजाअर्चनाले परिवार, समाज र राष्ट्रमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको भन्दै विवाह पञ्चमीले सत्य, सहिष्णुता, मैत्री, मेलमिलाप र परोपकारको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना उपराष्ट्रपतिले व्यक्त गर्नुभएको छ।

शेयर गर्नुहोस