मलेसियामा आमाछोरी हत्या अभियोगमा नेपाली युवक अदालतमा पेश

सखीखबर डट कम
पाठक संख्या - 261
पढ्न लाग्ने समाय 2 मि.

मङ्सिर १३, काठमाडौं : मलेसियामा आमाछोरीको हत्या गरेको गम्भीर आरोपमा एक नेपाली युवकलाई मजिस्ट्रेटको अदालतमा पेश गरिएको छ। मलेसियाका मजिस्ट्रेट नुरुल रसिदाह मोहम्मद अकितको अगाडि दुवै आरोप हिन्दी भाषामा पढेर सुनाइएपछि ३५ वर्षीय दिनेशकुमार मण्डलले बुझेको संकेत स्वरूप टाउको हल्लाएका थिए।

अधिकारीका अनुसार मुद्दा उच्च अदालतको क्षेत्राधिकारमा पर्ने भएकाले पहिलो चरणमा कुनै बयान दर्ता गरिएको छैन। मण्डलमाथि गत अक्टोबर १८ मा कम्पुङ सेकोलाह जुरुस्थित एक घरमा ५१ वर्षीया सरिया चे हिन र ११ वर्षीया नूर अफ्रिना अब्दुल रहीमको हत्या गरेको आरोप लगाइएको छ। घटना दिउँसो १२:३० देखि ७:३० को बीचमा भएको बताइएको छ।

दोषी ठहरिए कडा सजाय हुने

मामिला दण्डसंहिताको धारा ३०२ अन्तर्गत दर्ता भएको छ। दोषी प्रमाणित भएमा मण्डललाई मृत्युदण्ड वा ३० देखि ४० वर्षसम्म कैद सजाय हुनसक्ने मलेसियाली सञ्चारमाध्यमले जनाएका छन्। यदि मृत्युदण्ड नदिइने हो भने उनलाई न्यूनतम १२ कोर्रा सजायसमेत हुनसक्ने प्रावधान छ।

उपसरकारी अभियोजक अनिस सुहादा रोस्लीले अभियुक्तका लागि कुनै जमानत प्रस्ताव नगरेका छन्। अदालतले मुद्दा पुनः उल्लेख गर्न २०२६ जनवरीमा मिति तोकेको छ। यसबीच पोस्टमार्टम, फोरेन्सिक तथा रासायनिक परीक्षणसम्बन्धी सबै रिपोर्ट पूरा गर्न समय दिन आदेश गरिएको छ।

भाग्ने क्रममा पक्राउ

मण्डल आमाछोरीको हत्या गरेको आरोपपछि दलाललाई ४ हजार रिंगेट बुझाएर नेपाल भाग्ने प्रयासरत रहेकामा इमिग्रेसन जाँचकै क्रममा पक्राउ परेका थिए।

हाल मलेसियाका विभिन्न जेलमा १ सय ६४ जना नेपाली विभिन्न मुद्दामा सजाय काटिरहेका छन्। क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार तीमध्ये १९ जना हत्या, ३१ जना फौजदारी, २८ जना लागूऔषध, २१ जना लागूऔषध मिश्रित र ६५ जना आप्रवासनसम्बन्धी मुद्दामा दोषी वा आरोपित छन्।

शेयर गर्नुहोस