अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। सरकार, सरोकारवाला निकाय तथा अपाङ्गता अधिकारका क्षेत्रमा सक्रिय संघ–संस्थाहरूले दिवसको अवसरमा र्याली, सम्मान कार्यक्रम, अन्तरक्रिया, नीतिगत सुधारबारे छलफल तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्।
संयुक्त राष्ट्रसंघको पहलमा सन १९९२ देखि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर यो दिवस मनाउन थालिएको हो। यस वर्षको नाराका रूपमा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ, जसले अपाङ्गता भएका व्यक्तिहरूको हक, समानता, समावेशिता र सम्मानप्रति संपूर्ण समाजको प्रतिबद्धता पुनः स्मरण गराउँछ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्यालय, विद्यालय, सार्वजनिक सवारी, सडक, पार्क, धार्मिक स्थल तथा सरकारी–निजी संरचनाहरूमा आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक पहुँच र वातावरण निर्माण अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूको भनाइ छ। संविधानले अपाङ्गता भएका नागरिकलाई मर्यादित जीवन, समान पहुँच र सेवा सुविधामा बराबरी हक सुनिश्चित गरे पनि व्यवहारमा ती अधिकार पूरा रूपमा कार्यान्वयन हुनुपर्ने माग निरन्तर उठ्दै आएको छ।
दिवसका कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितता, सामाजिक सहभागिता र समावेशी विकास प्रक्रियामा सबै पक्षको सक्रिय भूमिका अपरिहार्य रहेको सन्देश दिइएको छ।
