मधेश प्रदेशमा नयाँ सरकार गठनमा अन्योल, दाबी पेश गर्ने अन्तिम समय आज ५ बजे

सखीखबर डट कम
पाठक संख्या - 194
पढ्न लाग्ने समाय 1 मि.

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम समय आज बेलुकी ५ बजेसम्म भए पनि दलहरूबीच सहमति जुट्न नसकेको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले नेतृत्वमा दाबी छोड्न नचाहेपछि सत्ता गठनको प्रयास जटिल बन्दै गएको हो।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूबीच आज सम्म पनि निरन्तर छलफल भए पनि कुनै टुंगो लाग्न सकेको छैन। दलहरूले नेतृत्वको प्रश्नमा सम्झौता गर्न नसक्दा प्रदेशमा सत्ता गठबन्धन निर्माण प्रक्रिया अनिश्चित देखिएको छ।

मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव तथा लोसपाका नेता जितेन्द्र सोनल मुख्य दाबेदारको रूपमा अगाडि देखिएका छन्। यादव र सोनल दुबैले आवश्यक समर्थन जुटाउन विभिन्न दलसँग छलफल एवं संवादलाई तीव्र पारेका छन्।

प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम आज बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न समय निर्धारण गरिसकेको छ। प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभा बैठकमा दिएको राजीनामापछि प्रदेशमा नयाँ सत्ता निर्माणको गृहकार्य औपचारिक रूपमा सुरु भएको हो।

शेयर गर्नुहोस