मंसिर २०, जनकपुरधाम : मधेश प्रदेशमा नयाँ राजनीतिक मोड आएको छ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम शुक्रबार साँझ यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यादवले १०४ सदस्यीय प्रदेशसभामध्ये ७७ सदस्यको समर्थन प्राप्त भएको दाबी गर्दै सरकार गठनका लागि दाबी पेश गरेका थिए। उनको नेतृत्वमा कांग्रेस, जसपा, जनमत, लोसपा, माओवादी केन्द्र, नेकपा (एस) र नागरिक उन्मुक्तिका सांसदहरूको समर्थन रहेको छ। पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि सातदलीय गठबन्धनको लामो छलफलपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन सहमति जुटेको हो।
प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत शत्रुधन यादवका अनुसार नवनियुक्त मुख्यमन्त्री यादवको शपथग्रहण आइतबार हुने तयारी भएको छ। पाँच मन्त्रीसहित यादव शपथ लिनेछन्। सबै दलबाट एउटाका दरले मन्त्री समावेश गर्ने योजना उनले सार्वजनिक गरेका छन्। बाँकी मन्त्रालयको टुंगो विश्वासको मत प्राप्त भएपछि लगाइने जनाइएको छ। साथै, लामो समयदेखि रिक्त रहेको प्रदेशसभा सभामुख पद पनि विश्वासको मतपछि टुंगो लगाइने तयारी गरिएको छ।
यसअघि लालबाबु राउत, सरोजकुमार यादव (बारा), सतीशकुमार सिंह, जितेन्द्रप्रसाद सोनल तथा नेकपा एमालेका सरोजकुमार यादव (महोत्तरी) मधेश प्रदेशको नेतृत्व गरिसकेका छन्। हाल दोस्रो कार्यकालको क्रममा पाँचौँ पटक नेतृत्व परिवर्तन भएको छ र यसपटक नेतृत्व कांग्रेसका यादवले पाए। विपक्षमा भने एमाले र नेपाल संघीय समाजवादी रहनेछन्।
राजनीतिक यात्रा
२०२४ भदौ ९ मा रौतहट, गढीमाई–८ बरियारपुरमा जन्मिएका यादव राजनीतिक परिवेशमा नै हुर्किएका नेता हुन्। उनका पिता रामचन्द्र यादव २०५४ सालमा कांग्रेसबाट बरियारपुर गाविस अध्यक्ष बनेका थिए। स्वयं कृष्णप्रसाद यादव २०६४ को संविधानसभा निर्वाचनमा रौतहट–४ बाट विजयी हुँदै केन्द्रिय राजनीतिमा उदाएका थिए ।
उनी पटक–पटक रौतहट जिल्ला सभापति, त्यसपछि मधेश प्रदेश कांग्रेस सभापति हुँदै २०७९ मा प्रदेशसभा सदस्य बने। कृषिबिज्ञानमा स्नातक गरेका यादव गत पुस १४ मा संसदीय दलको नेता चयन भएका थिए। यसअघि भौतिक पूर्वाधार मन्त्रीसमेत भइसकेका यादवले यसपटक मधेशको कार्यकारी नेतृत्व सम्हाल्ने अवसर पाएका छन्।
नयाँ सरकार गठनसँगै प्रदेशमा स्थिरता र प्रभावकारी प्रशासनको अपेक्षा राखिएको छ। अब सबैको ध्यान आइतबार हुने शपथग्रहण तथा विश्वासको मत प्रक्रियातर्फ केन्द्रित हुनेछ।

