जनकपुरधाम २१ मंसिर:भोलि सोमबारदेखि २३ मंसिरसम्म जनकपुरधाममा लैंगिक समानता मेला आयोजना हुने भएको छ। जनकपुर उपमहानगरपालिका–८ स्थित मिथिला विकास कोष भवनमा आयोजना हुन लागेको मेलामा सिर्जनशीलता, कला, मनोरञ्जनात्मक खेल, संस्कृति तथा प्रविधिमैत्री गतिविधिहरू मार्फत लैंगिक समानताको सन्देश प्रवाह गरिनेछ।
मधेशको खेलकुद तथा सामाजिक विकास मन्त्रालयको संयोजनमा, नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको ‘लैंगिक हिंसा अन्त्यका लागि पुरुष सञ्जाल’, राष्ट्रिय महिला आयोग, मधेशी आयोगको सहकार्य तथा बेलायत सरकारको आर्थिक सहयोगमा पिपुल इन निड, हामी दाजुभाइ र दिव्य विकास स्रोत केन्द्रको संयुक्त साझेदारीमा मेला आयोजना हुँदैछ।
लैंगिक हिंसा विरुद्धको अभियानलाई थप बलियो बनाउने र समानतामूलक समाज निर्माण गर्ने साझा प्रतिबद्धता विकसित गर्न मेला आयोजना गरिएको परियोजना व्यवस्थापक समीक्षा खड्काले जानकारी दिइन्।
