सहकारीमा एक व्यक्तिलाई एकै संस्थामा मात्र सञ्चालक बस्ने व्यवस्था लागू गर्न निर्देशन

सखीखबर डट कम
पाठक संख्या - 234
पढ्न लाग्ने समाय 1 मि.

काठमाण्डौः सहकारी विभागले एक व्यक्तिलाई एकभन्दा बढी सहकारीमा सञ्चालक बन्न नदिने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न देशभरका सहकारी संस्थालाई निर्देशन दिएको छ। सहकारी ऐन २०७४ को दफा ४१ मा स्पष्ट रूपमा उल्लेख भए पनि पटक–पटक निर्देशन गर्दा समेत पालना नभएको भन्दै विभागले पुनः कडाइका साथ ऐन लागू गर्न आग्रह गरेको हो।

विभागका अनुसार एकै व्यक्ति विभिन्न सहकारीमा दोहोरो सञ्चालकका रूपमा बसेको गुनासो निरन्तर प्राप्त हुँदै आएको छ। यस प्रकारको दोहोरो भूमिकाले पारदर्शिता र सुशासनमा समस्या उत्पन्न गर्ने भन्दै तत्काल रोक्न विभागले सबै सहकारीलाई सूचित गरेको छ।

त्यस्तै सहकारी संस्थाको अनुगमन, नियमन तथा सुपरिवेक्षणका जिम्मेवारी पाएका नियमनकारी निकायहरूले ऐनको कार्यान्वयन स्थिति नियमित रूपमा जाँच र पुष्टि गर्न विभागले अनुरोध गरेको छ। विभागले यही व्यवस्थाले सहकारी क्षेत्रलाई थप व्यवस्थित र उत्तरदायी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस