७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस : समान अधिकार र संरक्षणमा जोड, नेपालभर कार्यक्रम

सखीखबर डट कम
पाठक संख्या - 176
पढ्न लाग्ने समाय 2 मि.

विश्वव्यापी रूपमा मानवअधिकारको संरक्षण, संवर्धन र समानताको प्रतिवद्धतासहित आज ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदैछ। मानवअधिकारको सुनिश्चितता, हरेक व्यक्तिको स्वतन्त्रता र न्यायपूर्ण समाज निर्माणका लागि यो दिवसले महत्वपूर्ण सन्देश दिने गर्छ। नेपालमा पनि विभिन्न कार्यक्रम, छलफल तथा जनचेतनामूलक गतिविधिहरूका माध्यमबाट दिवसको महत्त्व उजागर गरिएको छ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा विभिन्न राजनीतिक दलहरूले शुभकामना सन्देश जारी गर्दै मानवअधिकारको संरक्षण तथा संवर्द्धनमा सबैको प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरेका छन्।

सन् १९४८ डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित मानवअधिकारको विश्वव्यापी घोषणापत्र (UDHR) को स्मृतिमा प्रत्येक वर्ष यो दिवस मनाइन्छ। घोषणापत्रले जाति, धर्म, भाषा, लिंग, विचार, जन्म, सामाजिक स्थिति लगायतका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार प्रदान गर्ने व्यवस्था गरेको छ।

नेपालले पनि मानवअधिकारको प्रवर्द्धन तथा क्रियान्वयनमा विभिन्न कानुनी संरचना र प्रमाणीकरणहरू अघि सारेको छ। विचार अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्र रूपमा भेला हुने तथा संगठन खोल्ने अधिकार संविधानले सुनिश्चित गरेको छ। साथै, मानवअधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि सरकारले २०७७ मा सम्बन्धित आदेश जारी गरेको थियो।

मंगलबार मात्रै मानवअधिकार रक्षकहरूको अन्तर्राष्ट्रिय दिवस मनाइएकाले यस वर्ष मानवअधिकार सप्ताह विशेष रूपमा सक्रिय देखिएको छ। UDHR-1948, मानवअधिकार रक्षक घोषणापत्र 1998, र नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी 1966 का सिद्धान्तहरूको पालनामा निरन्तरता आवश्यक रहेको सरोकारवाला निकायहरूको भनाइ छ।

मानवअधिकार दिवसले हरेक वर्ष जस्तै यस वर्ष पनि मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा समाजलाई अझ जिम्मेवार र जागरूक बन्न प्रेरित गरेको छ।

शेयर गर्नुहोस