कलैया, मंसिर २७:कलैया उपमहानगरपालिका–१९ पचायनपुरमा मिति २०८२/८/२७ गते सामाजिक परिवर्तन केन्द्रको सहकार्यमा सार्वजनिक धाराको पानीको निकास सम्बन्धी समस्याको समाधानका लागि संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम हरिन्द्र राउत कुर्मीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा पचायनपुर टोलका वडा अध्यक्ष, वडा सदस्य, स्थानीय बासिन्दा, राजनीति दल र पत्रकार तथा समाजसेवीसहित करिब ४० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले सार्वजनिक धाराको पानीको उचित निकास नहुँदा बस्तीमा देखिएका समस्या, दुर्गन्धित पानीका कारण स्वास्थ्यमा परेको असर तथा दीर्घकालीन समाधानका उपायबारे विस्तृत रूपमा छलफल गरेका थिए।

संवाद कार्यक्रममा सहभागी जानार्सी देबीले डिप बोरिङ गाडिएको भए पनि धारा जडान नभएको जानकारी गराउनुभयो। त्यस्तै, समाजसेवी तिलकदेव पटेलले डिप बोरिङ गाडिएको भए पनि पानी सञ्चालनमा नआएको विषय उठाउँदै यसको मुख्य जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाउनुभयो। यसैगरी, सुरज पटेलले वार्डमा खाद्य अभाव र बालबालिका कुलततर्फ आकर्षित हुँदै गएको समस्या राख्नुभयो। भरोस पटेलले पानी र धारासम्बन्धी समस्या यथावत् रहेको जानकारी गराउनुभयो।

छलफल क्रममा सहभागी मनोज पटेलले दीर्घकालीन सञ्चालनका लागि जल उपभोक्ता समिति गठन गरी व्यवस्थापन गर्न सुझाव दिनुभयो। वडा अध्यक्ष राउत कुर्मीले जनचेतनाको कमी, प्राविधिक ज्ञानको अभाव, योजनाबद्ध संरचनाको नहुनु तथा सरोकारवाला निकायबीचको कमजोर समन्वय समस्याका प्रमुख कारण रहेको बताउनुभयो। साथै, सार्वजनिक धाराबाट बग्ने पानी व्यवस्थित रूपमा नालामार्फत निकास नहुँदा घरआँगनमा पानी पस्ने, बाटो बिग्रने र स्वास्थ्य जोखिम बढ्ने अवस्था सिर्जना भएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो।

संवाद कार्यक्रममा तत्काल नाला निर्माण, नियमित मर्मतसम्भार, समुदायस्तरमा श्रमदान तथा दीर्घकालीन समाधानका लागि उपमहानगरपालिकासँग समन्वय गरी योजना अघि बढाउने सहमति गरिएको थियो। वडा अध्यक्षले स्थानीय सरकार समस्याप्रति गम्भीर रहेको उल्लेख गर्दै आवश्यक बजेट, प्राविधिक सहयोग तथा सम्बन्धित निकायसँग समन्वयका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले सामूहिक प्रयास र निरन्तर संवादमार्फत मात्र सार्वजनिक धाराको पानी निकाससम्बन्धी समस्या समाधान गर्न सकिने निष्कर्ष निकालेका थिए। उक्त कार्यक्रमको जानकारी सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुश्वाहाले दिनुभयो।
