कलैयामा प्रदेश स्तरीय जलवायु न्याय सम्बन्धी संवाद सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 248
पढ्न लाग्ने समाय 4 मि.

पौष २, कलैया, बारा :जलवायु न्याय सम्बन्धी प्रदेशस्तरीय संवाद कार्यक्रम पुस २, २०८२ गते Center for Social Change (सामाजिक परिवर्तन केन्द्र) को सहयोगमा कलैया–बारा स्थित दरबार होटलमा सफलतापूर्वक सम्पन्न भएको छ।

संवाद कार्यक्रममा कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकाका स्थानीय जनप्रतिनिधि, जेन–जि युवा, समाजसेवी, पत्रकार, कलैया Blue Diamond Society की प्रतिनिधि तथा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि गरी करिब ४० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि अनिस खत्री र समिक्षा न्यापाने ले जलवायु न्याय सम्बन्धी संस्थाले गरेको अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो। त्यसपछि जलवायु सम्बन्धी प्यानल छलफल भएको थियो जसमा प्यनलिस्त को रूपमा कविता खड्का, सरस्वती खरेल तथा फेटा गाउँपालिकाका कृषि प्राविधिक सन्जय कुशवाहा ले आ आफ्नो धारणा राखेका थिए ।

संवादका क्रममा Blue Diamond Society की प्रतिनिधि पूर्णिमा श्रेष्ठ ले स्थानीय तहबाट वृक्षरोपण अभियानलाई प्रभावकारी बनाउँदै पानीका मुहान वरिपरि सिमलजस्ता पानी सोस्ने रुख रोप्नुपर्ने सुझाव दिनुभयो। साथै “एक घर, एक बोट” नीति कार्यान्वयन तथा आगामी संवादमा प्रमुख जिल्ला अधिकारी (CDO), जिल्लास्तरीय अधिकारी र स्थानीय तहका प्रतिनिधिलाई आमन्त्रण गर्न अनुरोध गर्नुभयो।

कार्यक्रममा सहभागी शेषनाथ यादव ले जलवायु परिवर्तनका कारण र त्यसका प्रभाव व्यवस्थापनका उपायहरूबारे बुन्दागत जानकारी माग गर्दै प्रश्न राख्नुभयो। त्यसको जवाफमा कविता खड्काले उद्योग, यातायात, कोइला तथा पेट्रोलियम पदार्थबाट निस्कने ग्यास, वन फँडानी र औद्योगिकीकरणबाट निस्कने फोहोरका कारण कार्बन डाइअक्साइड (CO₂) उत्सर्जन बढेर जलवायु परिवर्तन भएको स्पष्ट पार्नुभयो।

जेन–जि सहभागी कृष पटेल ले बढ्दो खानेपानी समस्याबारे प्रश्न उठाउँदै जापानमा प्रयोग भइरहेका पानी भण्डारण प्रविधि नेपालमा किन प्रयोग हुन नसकेको भन्ने विषयमा चर्चा गर्नुभयो। यसै सन्दर्भमा कलैया उपमहानगरपालिका वडा नं. १२ का अध्यक्षले स्थानीय स्तरमा खानेपानी, नालाको पानी तथा आकाशे पानीलाई भूमिगत रिचार्ज गर्ने काम भइरहेको जानकारी गराउनुभयो।

कृषि तथा पशुपालन क्षेत्रले जलवायु परिवर्तनमा पार्ने प्रभावबारे समाजसेवी उमेश दुबे ले प्रश्न उठाउनुभयो। कृषि प्राविधिक सन्जय कुशवाहाले पशुपालनमा गोबरको उचित व्यवस्थापन नहुँदा मिथेन ग्यास उत्सर्जन हुने र यसको Global Warming Potential कार्बन डाइअक्साइडभन्दा २८ गुणा बढी हुने जानकारी दिनुभयो। साथै धान खेतीमा रासायनिक मलको अत्यधिक प्रयोग, खेतमा बाली अवशेष जलाउँदा नाइट्रस अक्साइड ग्यास निस्कने, वन विनाश, भारी कृषि उपकरणमा प्रयोग हुने इन्धनबाट CO₂ उत्सर्जन हुने जस्ता कारणले जलवायु परिवर्तन बढेको स्पष्ट पार्नुभयो।

जलवायु परिवर्तनले कृषिमा खडेरी, अत्यधिक वर्षा तथा बाढी, नदी र पानीका मुहान सुक्नु, बाली उत्पादन घट्नु, बाली पाक्ने समय परिवर्तन हुनु, रोग र किराको प्रकोप बढ्नु, माटो क्षय, खाद्य असुरक्षा र रैथाने बाली लोप हुने असर देखिएको उहाँले जानकारी गराउनुभयो। साथै अनुकूलन उपायका रूपमा drip irrigation, sprinkler irrigation, rainwater harvesting, बाँध तथा तटबन्ध निर्माण, जैविक बार, उन्नत जातका बीउ प्रयोग, रैथाने बाली संरक्षण तथा आधुनिक प्रविधिको प्रयोगबारे छलफल गराउनुभयो।

त्यस्तै, जलवायु परिवर्तनले महिलामा पर्ने प्रभाव, पानीका मुहान सुक्नुका कारण, कम वर्षाले जलभण्डार रिचार्ज नहुनु, तापक्रम वृद्धिले मुहान चाँडै सुक्नु, हिम पग्लिने दरमा आएको परिवर्तन, वन विनाश, भूमिगत पानीको अत्यधिक प्रयोग, अव्यवस्थित पूर्वाधार निर्माण र पानी प्रदूषणका विषयमा सरस्वती खरेल ले सहजीकरण गर्नुभएको थियो। उहाँले समाधानका उपायका रूपमा पोखरी निर्माण तथा मर्मत, rainwater harvesting, चेक ड्याम, पानी बचत, पानीको पुनःप्रयोग तथा वैकल्पिक स्रोत विकासमा जोड दिनुभयो।

कार्यक्रम सम्पन्न भएको जानकारी सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिकी कुशवाहाले दिनुभएको छ।

शेयर गर्नुहोस