मदिराको अत्यधिक सेवनले मुसहर समुदायमा बढ्दो मृत्युदर, घरेलु मदिराको बिक्री रोक्न स्थानीयको माग

सखीखबर डट कम
पाठक संख्या - 233
पढ्न लाग्ने समाय 2 मि.

दलित समुदायअन्तर्गत अति विपन्न मुसहर समुदायमा ४० वर्ष नपुग्दै युवाहरूको लगातार मृत्यु हुन थालेपछि स्थानीयले घरेलु मदिराको बिक्रीमा कडाइका साथ रोक लगाउन माग गरेका छन्। मदिराको अत्यधिक सेवनकै कारण असमयमै ज्यान गइरहेको भन्दै लहान नगरपालिका वडा नम्बर १ र २ का स्थानीय महिलाहरू आन्दोलित बनेका हुन्।
लहान वडा नम्बर १ र २ मा करिब तीन सय घरपरिवार रहेको मुसहर बस्तीमा पछिल्लो समय मृत्युदर अस्वाभाविक रूपमा बढेको स्थानीयको भनाइ छ। बस्ती वरिपरि सञ्चालित आधा दर्जनभन्दा बढी अवैध रक्सी भठीका कारण समस्या झन् गम्भीर बन्दै गएको भन्दै ती भठी तत्काल हटाउन माग गरिएको छ।
मुसहर समुदायकी अगुवा महिला सोनिया सदायले मदिराले समुदायलाई तहसनहस बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “अब त अति भइसक्यो, धेरै ठूलो क्षति भइसकेको छ। लहान नगरपालिकाको नगर प्रहरी र इलाका प्रहरी कार्यालय लहानले नियमित गस्ती गरेर मदिरा बिक्री–वितरणमा पूर्ण रूपमा रोक लगाउनुपर्छ। नत्र यो बस्ती जोगिँदैन।”
नौ दिनको अन्तरालमै ३२ वर्षीया भाइ नथुनी सदाय र २५ वर्षीय छोरा सञ्जय सदायको मदिरा सेवनकै क्रममा मृत्यु भएको पीडा रामु सदायले सुनाउनुभयो। उहाँले यस्तो घटना दोहोरिन नदिन मदिरा सेवन रोक्ने पहल नगरपालिकाले गर्नुपर्ने माग गर्नुभयो।
त्यस्तै, मदिरा सेवनका कारण मिर्गौला बिग्रिएपछि भारतको दरभङ्गामा चार लाख रुपैयाँ खर्च गरेर ज्यान जोगाएको पीडा रामचन्द्र सदायले व्यक्त गर्नुभयो। उहाँजस्तै पीडा भोग्नेहरूको सङ्ख्या बस्तीमा धेरै रहेको स्थानीय बताउँछन्।
स्थानीयहरू एकै स्वरमा भन्छन्, “मुसहर समुदायको बस्ती जोगाउन अब मदिरा बन्द हुनैपर्छ।” उनीहरूले अवैध मदिरा उत्पादन र बिक्रीमा कडाइ गर्दै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

शेयर गर्नुहोस