आज पुस शुक्ल पक्षको चतुर्दशी तिथि रहेको छ। चन्द्रमाको स्थिति र नक्षत्रका पदका आधारमा व्यक्तिको दैनिकी, स्वास्थ्य, शिक्षा, लगानी र पारिवारिक पक्षबारे भविष्यवाणी गरिन्छ। आजको दिन मेषदेखि मीनसम्मका राशिका लागि यस्तो देखिन्छ प्रभाव—
१.मेष :
स्वास्थ्यमा सुधार आउने संकेत छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित लगानीबाट फाइदा मिल्ने योग छ। शिक्षामा प्रगति हुनेछ। लगानी गर्दा सहकार्य गरेमा लाभदायक रहनेछ। दक्षिणतर्फ लामो यात्रा नगर्नु उचित देखिन्छ।
२.वृष :
उपचाररत स्वास्थ्यमा सुधार आउनेछ। आज गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। परिवारसँगको सम्बन्ध सुदृढ बन्नेछ। प्रेम सम्बन्ध अझ सुमधुर बन्ने योग छ।
३.मिथुन :
मानसिक चिन्ता र असन्तुष्टि बढ्न सक्छ। व्यवसायमा साझेदारी लाभदायक हुनेछ। राज्य पक्षबाट अवरोध आउन सक्ने भएकाले सतर्क रहनु आवश्यक छ। धार्मिक कार्यमा सहभागी भए मन शान्त हुनेछ।
४.कर्कट :
शुभग्रहको प्रभावका कारण दिन सहज रहनेछ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। विशेषगरी कपडाको व्यापारबाट राम्रो आम्दानी हुने संकेत छ। राज्यको निगरानीमा पर्ने काम गर्दा सचेत रहनु आवश्यक छ।
५.सिंह :
स्वास्थ्यले साथ दिनेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट प्रगति हुनेछ। यद्यपि मन केही अशान्त हुनसक्छ।
६.कन्या :
दिन राम्रो छ। उत्साह र उमंग बढ्नेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यतर्फ भने सावधानी आवश्यक छ। परिवारसँग रमाइलो घुमघामको अवसर मिल्नेछ।
७.तुला :
दाजुभाइसँगको सहकार्यले मन खुशी हुनेछ। पेटसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ। बोली र व्यवहारमा एकरूपता कायम गर्नुपर्ने देखिन्छ। परिवारमा मेलमिलाप बढ्नेछ।
८.वृश्चिक :
दिन सामान्य रूपमा राम्रो छ। सञ्चित धन खर्च हुँदा मन खिन्न हुन सक्छ। सहकर्मीको साथ मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्ने योग छ।
९.धनु :
शिक्षा र स्वास्थ्यमा गरिएको लगानी लाभदायक हुनेछ। मन केही उदास बन्न सक्छ। दिनको सुरुवात दान वा पीपलको दर्शनबाट गरे दैनिकी सहज बन्नेछ।
१०.मकर :
वाणी र कलाको प्रदर्शनबाट नाम र दाम दुवै मिल्ने योग छ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक अवस्था मजबुत बन्दै जानेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। शिक्षामा गरिएको लगानीबाट फाइदा हुनेछ।
११.कुम्भ :
दिन सामान्य रहनेछ। विभिन्न क्षेत्रमा अवरोध आउन सक्छ। मानसिक चाप बढ्न सक्ने देखिन्छ। मध्य साढेसातीको प्रभाव रहेकाले बिहान शिवको भजन वा ध्यान गरे दिन सहज बन्नेछ।
१२.मीन :
आज सोचेका काम पूरा हुने योग छ। घुमफिरको योजना बन्न सक्छ। खर्च पनि हुनेछ तर मिष्ठान्न भोजन प्राप्त हुने सम्भावना छ। समग्रमा दिन सुखद रहने संकेत छ।
आजको राशिफल : पुस १८ गते शुक्रबार, २०८२
शेयर गर्नुहोस
