सिरहाको कर्जन्हा नगरपालिकामा १७ वर्षीया किशोरी अबिना बैधको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–३ निवासी करिब ४५ वर्षीय रामबालक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
गत २२ कात्तिक दिउँसो करिब २ः४५ बजे कर्जन्हा नगरपालिका–२, स्कुल टोलस्थित कमला सिँचाइ नहरभन्दा केही तलको झाडीमा एक किशोरी मृत अवस्थामा फेला परेपछि घटनाले क्षेत्रभर सनसनी मच्चाएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी उपरीक्षक अनन्तराम शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का गरी मधेश प्रदेश प्रहरी कार्यालयबाट डग स्निफिङ टोलीसमेत परिचालन गर्दै अनुसन्धान अघि बढाएको थियो। मृतकको शव पोस्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो। पछि मृतक कर्जन्हा नगरपालिका–१, बाल्टिया निवासी स्वर्गीय सूर्यदेव बैधकी १७ वर्षीया छोरी अबिना बैध भएको पुष्टि भएको थियो।
घटनापछि विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा रामबालक चौधरी शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र अभियुक्तबीच पहिलेदेखि नै चिनजान रहेको, व्यक्तिगत सम्बन्ध तथा आपसी विवादका कारण घटना घटेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।
प्रहरीका अनुसार आपसी विवाद बढ्दै जाँदा आवेगमा आएर अभियुक्तले किशोरीको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्। घटनापछि शव लुकाउने प्रयास गरिएको आशंका पनि अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
अभियुक्त चौधरीलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र सत्य–तथ्य अदालतमार्फत स्थापित गरिने प्रहरीले जनाएको छ।
सिरहाको कर्जन्हामा १७ वर्षीया किशोरी हत्या प्रकरण : एक जना पक्राउ
शेयर गर्नुहोस
