कलैया, बारा :कृषि उत्पादनको गुणस्तर र परिमाण दुवै बढाउन गुणस्तरयुक्त बीउ अत्यन्तै महत्वपूर्ण हुने कृषि प्राविधिक सञ्जय कुश्वाहाले बताएका छन्। उनका अनुसार कुनै पनि बालीको बीउ गुणस्तरयुक्त हुन त्यसमा बंशानुगत जातीय शुद्धता, भौतिक शुद्धता, उपयुक्त चिस्यान, राम्रो उम्रने क्षमता, रोग तथा किरा–मुक्त अवस्था, समान आकार–प्रकार र चमकपनजस्ता गुणहरू तोकिएको मापदण्डअनुसार कायम भएको हुनुपर्छ।
कुश्वाहाका अनुसार बीउ उत्पादनदेखि संकलन, प्रशोधन, भण्डारण, प्याकेजिङ, बिक्री वितरण र ढुवानीसम्मका सम्पूर्ण चरणमा गुणस्तर निरीक्षण र नियन्त्रणमा ध्यान नदिइए बीउको गुणस्तरमा ह्रास आउँछ। यसका कारण खेतमा अपेक्षित उत्पादन नआउने, रोगको जोखिम बढ्ने र किसानको लगानी समेत बेकार जाने सम्भावना उच्च रहन्छ।
उनले उपयुक्त चिस्यान कायम नगर्दा बीउको उम्रने क्षमता घट्ने, भौतिक अशुद्धताले जातीय शुद्धता बिग्रिने तथा रोग–किरा नियन्त्रणमा लापरवाही हुँदा सम्पूर्ण बाली नै जोखिममा पर्न सक्ने बताए। त्यसैले वैज्ञानिक विधिबाट बीउको प्रशोधन, सुरक्षित भण्डारण र मापदण्डअनुसारको प्याकेजिङ अनिवार्य रहेको उनले जोड दिए।
कृषि क्षेत्रमा संलग्न संघ, प्रदेश तथा स्थानीय सरकारका निकायहरू र अन्य सरोकारवालाहरूले गुणस्तरयुक्त बीउको उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने कुश्वाहाको भनाइ छ। यसबाट किसानको उत्पादन लागत घट्नुका साथै उत्पादन वृद्धि, आत्मनिर्भर कृषि र खाद्य सुरक्षामा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

