नवलपुरमा स्थानीय तहका कृषि प्राविधिकहरूलाई ५ दिने फलफूल नर्सरी तथा बगैंचा व्यवस्थापन तालिम सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 416
पढ्न लाग्ने समाय 3 मि.

नवलपुर, सर्लाही :स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरूका लागि फलफूल नर्सरी तथा बगैंचा व्यवस्थापन सम्बन्धी ५ दिने तालिम २०८२ माघ १९ गते देखि २३ गते सम्म उष्ण प्रदेशीय बागवानी केन्द्र, नवलपुर सर्लाहीको आयोजनामा बागवानी केन्द्रकै तालिम हलमा सफलता पूर्वक सम्पन्न भएको छ।


उष्ण प्रदेशीय बागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बाली संरक्षण अधिकृत सुनिल कुमार चौधरी सहभागी हुनु भएको थियो। कार्यक्रममा बागवानी केन्द्र नवलपुरका प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू, मधेश, कोशी र बागमती प्रदेशका विभिन्न स्थानीय तहमा कार्यरत १८ जना कृषि प्राविधिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


समापन समारोहमा अध्यक्षीय मन्तव्य राख्दै निमित्त प्रमुख रामकुमार यादवले तालिममा प्राप्त सैद्धान्तिक तथा प्रयोगात्मक सीपहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा व्यवहारमा उतार्न सहभागी प्राविधिकहरूलाई आग्रह गर्नुभयो। उहाँले फलफूल नर्सरी र बगैंचा व्यवस्थापनले स्थानीय तहमा कृषि उत्पादन वृद्धि गर्नका साथै किसानको आयस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।


तालिम अवधिभर बागवानी केन्द्र प्रमुख रामकुमार यादव, बाली संरक्षण अधिकृत सुनिल चौधरी, बाली विकास अधिकृत अन्जु चौधरी, कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्र प्रमुख रोशन मेहता, उष्ण प्रदेशीय बागवानी नर्सरी विकास केन्द्र जनकपुरधाम (धनुषा) का प्रमुख राजीव कुमार यादव, प्रशिक्षक मनिसा बाम तथा कृषि इन्जिनियर रोशन कुमार साहले प्रशिक्षण प्रदान गर्नुभएको थियो।


तालिममा आँपका जात तथा बागवानी केन्द्रले विकास गरेका जातहरूको जानकारी, बगैंचा स्थापना विधि, आँप रोप्ने तरिका, खाल्डा खन्ने प्रविधि, मलखादको प्रयोग, गोडमेल र काटछाँट, रोग–किरा पहिचान तथा व्यवस्थापन, एभोकाडो, अनार र लिची खेती प्रविधि, विषादीको सुरक्षित प्रयोग, जैविक विषादीको परिचय, फलफूल बालीको प्रसारण विधि (ग्राफ्टिङ, लेयरिङ, कटिङ, बडिङ), भर्मिकम्पोस्ट उत्पादन, बोर्डो पेस्टको प्रयोग, सिँचाइ व्यवस्थापन, पोस्ट–हार्भेस्ट प्रविधि, नर्सरी व्यवस्थापन, फलफूल खेतीको लाभ–लागत विश्लेषण, कृषि यान्त्रिकरण, माटोको उर्वराशक्ति व्यवस्थापन, पुष्प खेती तथा टिस्यु कल्चर खेतीसम्बन्धी विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको थियो।


कार्यक्रमको अन्त्यमा सहभागी टक प्रसाद उपाध्यायले तालिम अत्यन्त प्रभावकारी र व्यवहारिक रहेको प्रतिक्रिया दिनुभयो भने रेलिना ढुंगानाले तालिमबाट सिकेका सीपहरू आफ्नो कार्यक्षेत्रमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उष्ण प्रदेशीय बागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले तालिम औपचारिक रूपमा समापन गर्नुभयो।


कार्यक्रमसम्बन्धी जानकारी बागवानी केन्द्र नवलपुर, सर्लाहीका बागवानी विकास अधिकृत अन्जु चौधरीले जानकारी गर्नु भएको हो।

शेयर गर्नुहोस