निर्वाचन प्रचारप्रसारमा अवरोध गरे दुई लाख जरिवाना वा तीन वर्ष कैद

सखीखबर डट कम
पाठक संख्या - 160
पढ्न लाग्ने समाय 2 मि.

फागुन १३, काठमाडौं:निर्वाचन प्रचारप्रसारमा कुनै राजनीतिक दल वा उम्मेदवारलाई अवरोध गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोग ले जनाएको छ।
आयोगका अनुसार सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्‍याउने, पुर्‍याउन लगाउने, थुनछेक गर्ने वा गराउने कार्य कानुनविपरीत मानिन्छ। यस्तो कार्यमा संलग्न व्यक्तिलाई कडा कारबाही गरिने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारहरूको चुनावी गतिविधि विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ। पछिल्ला दिनमा केही राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसार कार्यक्रममा अवरोध सिर्जना भएको गुनासो तथा उजुरी प्राप्त भएको आयोगको भनाइ छ। साथै, विभिन्न सञ्चारमाध्यमबाट समेत यस्ता घटनाबारे जानकारी आएको आयोगले उल्लेख गरेको छ।
राजनीतिक दल, उम्मेदवार तथा भातृ संगठनले पालना गर्नुपर्ने आचरणसम्बन्धी निर्वाचन आचारसंहिता जारी भइसकेको आयोगले स्मरण गराएको छ। आचारसंहितामा कुनै दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा अवरोध गर्न नपाइने स्पष्ट व्यवस्था छ।
निर्वाचन (कसुर तथा सजाय) ऐन अनुसार निर्वाचनको सिलसिलामा कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट बञ्चित गर्ने उद्देश्यले अवरोध गर्न नपाइने कानुनी प्रावधान छ।
आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवाला सबैको भएको आयोगले जनाएको छ। आयोगले कानुनविपरीत कुनै पनि गतिविधिमा संलग्न नहुन सबै पक्षलाई आग्रह गरेको छ।

शेयर गर्नुहोस