बारा, फेटा : गम्हरिया फाउन्डेसनको आयोजनामा फेटा गाउँपालिका–७ गम्हरियामा होली मिलन कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम फाउन्डेसनका अध्यक्ष दीपक साहको अध्यक्षतामा आयोजना गरिएको थियो। कार्यक्रममा फाउन्डेसनका करिब ३० जना सदस्यहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले एक–आपसमा रंग र अबिर लगाउँदै आपसी सद्भाव, भाइचारा तथा सामाजिक एकताको सन्देश आदान–प्रदान गरेका थिए।

उक्त अवसरमा स्थानीय बुद्धिजीवी, युवा तथा समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। वक्ताहरूले होली पर्वले समाजमा प्रेम, सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्दै यस्ता सांस्कृतिक कार्यक्रमहरूले समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने धारणा राखेका थिए।

कार्यक्रमका क्रममा फाउन्डेसनका प्रतिनिधि अभय तिवारीले आगामी दिनमा पनि सामाजिक तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिइने जानकारी गराएका थिए।
स्थानीय बासिन्दाहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा र एकताको भावना अभिवृद्धि गर्ने उल्लेख गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन्।

