निर्वाचन आयोगद्वारा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

सखीखबर डट कम
पाठक संख्या - 150
पढ्न लाग्ने समाय 1 मि.

फागुन १९, काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई थप निर्देशन दिएको छ। आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन जारी गरेको हो।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक–फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।
आयोगले निर्वाचन आचारसंहितामा समावेश व्यवस्थाअनुसार आजदेखि फागुन २१ गतेसम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न निर्देशन दिएको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष आचरण पालना गर्नुपर्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।
मतदानको दिन पालना गर्नुपर्ने आचरणको सम्बन्धमा जिल्लाभित्र सूक्ष्म अनुगमन गरी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिइएको छ। साथै, निर्वाचन आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्य गरेको पाइएमा सोही ऐनअन्तर्गत जिल्ला आचारसंहिता अनुगमन समितिसँग सहकार्य गरी आवश्यक कारबाही गर्न पनि आयोगले स्पष्ट पारेको छ।
प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन र निर्वाचन आचारसंहिताबमोजिम गर्न नहुने भनी तोकिएका कार्य नगर्न तथा नगराउन आयोगले सम्बन्धित सबै पक्षसँग हार्दिक अनुरोध गरेको छ।

शेयर गर्नुहोस