आज देशभर वर्षा र बदलीको सम्भावना, मधेश–कोशीमा हावाहुरीको जोखिम

सखीखबर डट कम
पढ्न लाग्ने समाय 1 मि.

काठमाडौं :देशका अधिकांश प्रदेशमा आज वर्षा र बदलीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहने सम्भावना छ ।
कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
त्यसैगरी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विशेषगरी मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान तथा गए राति गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको थियो ।