वीरगंज/ जबरजस्ती करणीको जाहेरी पछि पर्सा प्रहरीको अनुसन्धानबाट दोषी प्रमाणित भई सम्मानित पर्सा अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका पीड़कलाई उन्मुक्ति दिने प्रयास शुरू भएको छ।
प्राप्त खबर अनुसार वीरगंज-१५ का एक युवक (३४ पर्सा भिस्वा-५) ले नातामा आफ्नै भाउजु पर्ने एक महिला (३४ पर्सा भिस्वा-१) लाई जेष्ठ दोस्रो साता घरमा कोही नभएको मौका छोपी चिसो पेय पदार्थ कोकाकोलामा लठ्ठिने पदार्थ मिसाएर खुवाई बेहोस बनाई जबरजस्ती करणी गरेको र सोको भिडियो समेत बनाइ कसैलाई भनेमा सामाजिक संजाललगायतमा सार्वजनिक गरिदिने धम्कि दिइ दोस्रो पटक ०८१ जेष्ठ २८ गते विहान १०:३० बजे पुनः करणी गरेपछि पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी र मेडिकल परीक्षणबाट जबरजस्ती करणी भएको देखिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी मुद्दा चलाएकोमा सम्मानित पर्सा जिल्ला अदालतले दोषीलाई पुर्पक्षकालागि कारागार चलान गरेको थियो ।
यतिखेर पीड़ित भनिएकी महिलाले उक्त मुद्दाका दोषीलाई उन्मुक्ति दिलाउन शुक्रबार अदालतमा इनकारी बयान दिएको जानकारी प्राप्त हुन आएको छ। पीड़ितले नै इनकारी बयान दिएपछि पर्सा प्रहरीको
अनुसन्धानमाथि समेत प्रश्न चिन्ह खड़ा भएको छ।
पीड़ित महिलाले दबाव वा प्रभावमा परेर इनकारी बयान दिएकी हुन् या पर्सा प्रहरीको अनुसन्धान नै गलत थियो? भन्ने सवालबारे बुझ्ने प्रयास गर्दा पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सोनारको समन्वयमा पीड़ितले इनकारी बयान दिएको चर्चा सोनार समाजमा चलिरहेको पाइयो।
पीडित र पीडक एउटै जातीको भएकोले अध्यक्ष भुलन सोनारले आर्थिक प्रलोभन सहितको मानसिक र सामाजिक दबाव दिएर पीडित महिलालाई पीडक विरुद्ध दिएको जबरजस्ती करणी मुद्दाको बयान फेर्न लगाएको बताइन्छ।
स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष भुलन सर्राफले केस सेटल गर्न पीडकको तर्फबाट पीडित महिलाको घर परिवार, साक्षी लगायतलाई प्रभावमा पार्ने काम गरेका छन्।
सामाजमा आपराधिक गतिविधि, महिला हिंसा, बलात्कार हत्या हिंसा भइरहने र पीडितले बिचौलियाको बलमा उन्मुक्ति पाइरहने हो भने सुशासनको नारा कागजमा मात्र सीमित रहने सचेत नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् ।
पीडित भनिएकी महिला र पीडक भनिएका युवक मध्ये दोषी को त ? भन्ने प्रश्न एकातिर छ भने पीडितले आपसी एवं घरायसी विवादका कारण जाहेरी दिएको र आफू माथि जजक नभएको जस्ता बयान दिए पछि प्रहरीको अनुसन्धान उपर पनि गम्भिर प्रश्न उठेको छ । प्रहरीले त्यस तर्फ अनुसन्धान किन गरेनन् ?
जजकजस्ता जघन्य अपराधका घटनामा मिलापत्र गराउनेलाई पनि दोषी मानिने व्यवस्था रहेकोमा के भुलन सर्राफले समन्वयकर्ताको काम गरेकै हुन् त ?
भन्ने प्रश्न गर्दा अध्यक्ष भुलन सर्राफले को दोषी र निर्दोष को भन्ने आफूलाई थाहा नभएको र आफूले दुबै पक्षलाई कानून व्यवसायीसँग चीनजान मात्र गराईदिएको बताउनु भयो।
पीड़ितलाई बयान फिर्ता लिन दबाव वा प्रभावमा पारेको भन्ने सन्दर्भमा आफूमाथि लगाईंको आरोप निराधार रहेको अध्यक्ष भुलन सर्राफले बताए।