म पर्सा, मधेशकी रिंकु कुमारी ठाकुर। मेरो जन्म एउटा यस्तो समाजमा भयो जहाँ छोरीहरू जन्मनासाथ विवाहको लागि तयार गरिन्छन्। जहाँ छोरी हुनु भनेको परिवारको “बोझ” मानिन्छ, र तिनीहरूको अस्तित्वको अन्तिम लक्ष्य विवाह गरेर अर्को घर जानु मात्र ठानिन्छ।
१३ वर्षको उमेरमै विवाहको दबाब
म सानै थिएँ, मात्र १३ वर्षकी, जब मेरो आमाले मेरो विवाहको कुरा निकाल्न थाल्नुभयो। समाजका कानाहरू, संस्कारको साङ्लो, र ‘छोरी ठूलो भयो भने विवाह हुन गाह्रो हुन्छ’ भन्ने सोचले मेरो परिवारलाई घेरेको थियो। तर, म अरू जस्तो थिइनँ। मलाई किताबसँग प्रेम थियो, अक्षरहरूसँग प्रेम थियो। म पढ्न चाहन्थेँ, आफ्नो जिन्दगी आफैं बनाउन चाहन्थेँ।
मैले बाबालाई मनाएँ। उहाँले मेरो कुरा बुझ्नुभयो र मलाई पढ्न दिनुभयो। त्यो दिन म जितेकी थिएँ। तर, समाजले मलाई जित्न दिएको थिएन।
१७ वर्षमा फेरि विवाहको दबाब, तर यसपटक म एक्लै थिएँ
जब म १७ वर्षकी भएँ, विवाहको दबाब झन् कडा हुन थाल्यो। अब म “ब्याह गर्न ढिलो भइसकेकी छोरी” भनेर चिनिन थालिसकेको थिएँ। यसपटक मेरो पक्षमा कोही थिएन—न बुबा, न साथीहरू, न समाज। म एक्लै थिएँ। परिवारका लागि म “गर्व” नभई “लज्जा” भएकी थिएँ।
तर मैले विवाहको साङ्लो स्वीकारिन। म भागेँ। आफ्नो भविष्य बचाउन, आफूलाई बचाउन म आफ्नो घर छोड्न बाध्य भएँ।
समाजको उपहास, तर शिक्षाले दिएको नयाँ जीवन
समाजको आँखामा म ‘बिग्रिएकी छोरी’ भएँ। “यस्तो छोरीले परिवारकै इज्जत बिगार्छ,” भनेर मलाई हेपियो। कोही पनि मेरो पीडा बुझ्न चाहँदैनथे। म संगैकी केटीहरू भने जबर्जस्ती बिहे गरेर घरेलु हिंसा, स्वास्थ्य समस्या, र श्रीमानको नियन्त्रणमा परेका थिए।
बालविवाहले छोरीहरूको स्वास्थ्य बिगार्छ – सानै उमेरमा आमा बन्नु शरीरका लागि निकै जोखिमपूर्ण हुन्छ। प्रसवका बेला धेरै बालविवाह भएकी किशोरीहरूले ज्यान गुमाएका छन्।
घरेलु हिंसाको चपेटामा पर्छन् – धेरै बालविवाह भएकी केटीहरू हिंसाको शिकार हुन्छन्, तर उनीहरू बोल्न सक्दैनन् किनभने समाजले तिनलाई सधैं चुप लाग्न सिकाएको हुन्छ।
शिक्षाको अवसर गुम्छ – एकपटक विवाह भएपछि छोरीहरूको पढाइ सकिन्छ। उनीहरूको जिन्दगी भान्साभित्र मात्र सिमित हुन्छ।
तर मैले यी सबै भोगेर पनि हार मानिनँ। शिक्षाले मलाई फेरि उठ्ने बल दियो। म रातभरि पढ्थेँ, बिहान काम गर्थेँ, संघर्ष गर्थेँ। अनि अन्ततः, मास्टर डिग्री पूरा गरें, त्यो पनि ADB-JSP को पूर्ण छात्रवृत्तिमा।
शिक्षाले दिएको स्वतन्त्रता
शिक्षाले मलाई के दियो?
- आर्थिक स्वतन्त्रता – म अब कसैको दयामा बाँचेकी छैन। म आफ्नै बलमा उभिएकी छु।
- स्वाभिमान – मलाई कसैले हेप्न सक्दैन। समाजले कहिल्यै मलाई “असफल” भनेर चिनाउन खोज्यो, तर शिक्षाले मलाई प्रमाणित गरिदियो कि म सफल छु।
- आवाज – आज म बोल्न सक्छु। मैले बालविवाह भोगेकी केटीहरूको प्रतिनिधित्व गर्न सक्छु।
हरेक छोरीलाई शिक्षाको अवसर दिनुपर्छ!
आज म यो कथा सुनाउँदैछु किनभने म चाहन्छु कि कुनै पनि छोरीले मेरो जस्तै पीडा नबेहोराेस। कुनै पनि छोरी विवाहको नाममा बलिदान नहोस्। शिक्षाले छोरीहरूलाई बलियो बनाउँछ, उनीहरूलाई आत्मनिर्भर बनाउँछ, उनीहरूलाई मान्छे जस्तै बाँच्ने अधिकार दिन्छ।
मेरो संघर्षले मलाई एउटा कुरा सिकायो –
शिक्षा भनेको केवल पढाइ होइन, यो त स्वतन्त्रताको चाबी हो।