कस्तो छ मेरो समाज?

सखीखबर डट कम
पाठक संख्या - 376
पढ्न लाग्ने समाय 1 मि.

कस्तो छ मेरो समाज — अचम्मैको नियम!
यहाँ बलात्कृत पनि महिला, दोषी पनि महिला।
बलात्कारीलाई त धरौटीमा छुटाउँछन्,
शिर ठाडो पारेर हिँड्छ सडकमा—
जसले चिरा पार्‍यो आत्मा, शरीर र सपना।

तर पीडित?
उसलाई त समाजले सजाय दिन्छ —
शब्दमा होइन, दृष्टिमा, व्यवहारमा, मौनतामा।
बन्द गरिन्छ उसले हिँड्ने बाटो,
उसका नासोहरू जलाइन्छन्
बाँकी राखिन्छ केवल लाज र पीडा।

कस्तो न्याय हो यो?
जहाँ बलात्कारीका पाइलाहरू घर वरिपरि घुम्छन्,
तर पीडितलाई उसकै घरमा सास फेर्न मुस्किल हुन्छ।
जहाँ आमाले न्याय माग्दा,
छोराले नजर फेर्छ, बोल्नै छोड्छ।
र पतिको त बोल्दा–बोल्दै मन बन्द हुन्छ,
फोनको ‘ब्लक’ मा थन्किन्छ साथ र विश्वास।

कस्तो सोच हो यो?
जहाँ पीडितलाई दोष दिन सहज लाग्छ,
तर दोषीलाई पक्रन डराउँछ यो समाज।
जहाँ बलात्कारीलाई उन्मुक्ति दिन भीड जुट्छ,
तर पीडितलाई साथ दिन एक हात पनि उठ्दैन।

यो समाज—
न्यायको नाममा अन्यायको मूर्ति बनेको छ।
यो सोच—
घृणाको नाममा प्रेमको हत्यारा बनेको छ।

कस्तो छ मेरो समाज — अचम्मैको नियम!
यहाँ बलात्कृत पनि महिला, दोषी पनि महिला।

:–रिंकु कुमारी ठाकुर

 

शेयर गर्नुहोस