मलको अभावले छट्पटिँदै किसान : कृषि क्रान्ति नारामै सीमित भएको समाजिक अभियानता हिरामती कुशवाहाको गुनासो

सखीखबर डट कम
पाठक संख्या - 10
पढ्न लाग्ने समाय 2 मि.

कलैया, जेठ ३०: देशलाई कृषिप्रधान राष्ट्र भनिए पनि नेपाली किसान आजसम्म आधारभूत कृषिजन्य सामग्रीकै अभावमा पीडित बन्न बाध्य भएका छन्। विशेषगरी समयमै रासायनिक मल उपलब्ध नहुँदा किसानहरू चरम समस्यामा परेको गुनासो बढ्दै गएको छ। सामाजिक अभियन्ता हिरामती कुश्वाहाका अनुसार सरकारले हरेक वर्ष कृषि क्रान्ति, उत्पादन वृद्धि तथा कृषिमा आत्मनिर्भरताका नारा दिए पनि व्यवहारमा किसानले सहज रूपमा मलसमेत पाउन नसक्नु विडम्बनापूर्ण अवस्था बनेको छ। “एक किसान वर्षभरि परिवारको जीविकोपार्जनका लागि खेतमा पसिना बगाउँछ। तर आवश्यक समयमा मल नपाउँदा बाली सुक्न थाल्छ, किसान चिन्ताले रातभर सुत्न सक्दैन। सरकारी डिपो तथा सहकारीमा मल अभाव भएपछि बाध्य भएर किसान भारतसम्म पुग्नुपर्ने अवस्था छ,” कुश्वाहाले बताइन्। फेटा गाउँपालिका–७ का किसान श्रीराम साहका अनुसार नेपालमा सहज रूपमा मल उपलब्ध नभएकै कारण किसानहरू भारतबाट महँगो मूल्यमा युरिया मल खरिद गर्न बाध्य छन्। “४५ केजीको एक बोरा भारतीय युरिया मल किन्न रु. २,५०० देखि २,६०० सम्म तिर्नुपर्छ। दुःख गरेर ल्याएको मलसमेत बाटोमा हुने चेकजाँचका क्रममा प्रशासनले जफत गर्ने गरेको छ। घरमा बाली सुकिरहेको हुन्छ, मल नल्याए उत्पादन हुँदैन,” उनले भने। कृषि विज्ञहरूका अनुसार मल, बीउ, सिँचाइ र बजारको सुनिश्चितता बिना कृषिमा आत्मनिर्भरता सम्भव छैन। सरकारले हरेक वर्ष कृषि क्षेत्रमा ठूलो बजेट घोषणा गरे पनि त्यसको प्रत्यक्ष लाभ किसानसम्म पुग्न नसकेको गुनासो बढ्दो छ। नेपालले हरेक वर्ष खाद्यान्न आयातमा अर्बौं रुपैयाँ विदेश पठाइरहेको भए पनि स्वदेशमै उत्पादन वृद्धि गर्ने वातावरण अझै बन्न सकेको छैन। किसानहरूले कृषिजन्य सामग्रीमा सहज तथा व्यवस्थित आयात–निर्यात नीति लागू गर्नुपर्ने माग गरेका छन्। स्थानीय किसानहरूको भनाइ छ, “जबसम्म कृषिजन्य सामग्रीमा स्वतन्त्र र व्यवस्थित आयात–निर्यातको व्यवस्था हुँदैन, तबसम्म कृषिमा आत्मनिर्भरता केवल भाषणमै सीमित रहनेछ। कृषकहरूले सरकारसँग समयमै मल उपलब्ध गराउने, कृषि नीति व्यवहारिक बनाउने तथा किसानमैत्री वातावरण सिर्जना गर्न माग गरेका छन्। अन्यथा कृषि क्रान्तिका नाराले मात्रै देशलाई आत्मनिर्भर बनाउन नसक्ने कलैयाकी किसानकी छोरी तथा सामाजिक अभियन्ता हिरामती कुश्वाहाले बताएकी छन्।

शेयर गर्नुहोस