लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान: मन्त्रालयद्वारा देशव्यापी रूपमा भव्य रूपमा मनाउन आह्वान

सखीखबर डट कम
पाठक संख्या - 303
पढ्न लाग्ने समाय 1 मि.

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानलाई यो वर्ष पनि देशभर भव्य रूपमा मनाउन सम्बन्धित सबै निकायलाई आह्वान गरेको छ। मन्त्रालयले परिपत्र जारी गर्दै नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हुने अभियानमा तीनै तहका सरकार, विद्यालय, संघ-संस्था तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको हो।

मन्त्रालयअन्तर्गत लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख तथा महिला विकास अधिकृत ममता विष्टका अनुसार अभियानलाई जनस्तरमा लैङ्गिक हिंसाबारे सचेतना फैलाउने उदेश्यसहित सञ्चालन गर्न लागिएको हो। उनका अनुसार यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ तय गरिएको छ।

अभियानले विशेषगरी डिजिटल प्रविधिको दुरुपयोगबाट बढ्दै गएको हिंसालाई रोकथाम गर्न जनचेतना अभिवृद्धि गर्ने र प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोगका लागि समुदायलाई अभिप्रेरित गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस