मंसिर ९, बारा : अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा सामाजिक परिवर्तन केन्द्रको आयोजनामा फेटा गाउँपालिका–३, टाेल फेटामा ‘बाल विवाह नियन्त्रण तथा रोकथाम’ विषयक सामुदायिक संवाद कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा विभिन्न महिला समूहका अध्यक्ष तथा प्रतिनिधि, सखी–महिलाको साथी संस्थाका प्रतिनिधि, मोल्बी, पण्डितसहित कुल ४६ जनाको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा बाल विवाह किन हुन्छ भन्ने विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए। दलित महिला कृषक समूहकी अध्यक्ष राजकुमारीले सांस्कृतिक र परम्परागत दबाब, आर्थिक अवस्था कमजोर हुनु, छोरी र परिवार दुवै शिक्षित नहुनु जस्ता कारणले बाल विवाह हुने बताइन्। त्यस्तै, सुलेहा खातुनले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमको गलत प्रभावले पनि बाल विवाह बढ्ने धारणा राखिन्।

सहभागी हाजरा खातुनका अनुसार समाजमा ‘छोरीलाई छिटो विवाह गराउने हो भने सुरक्षित रहन्छ’ भन्ने गलत सोचका कारण पनि बाल विवाह हुन्छ। हसमोदिन अन्सारीले गरीबी, शिक्षा अभाव, परम्परा, लैङ्गिक असमानता र कमजोर कानुनी कार्यान्वयन बाल विवाहका प्रमुख कारण भएको उल्लेख गरे। स्थानीय सरकारद्वारा हुने कार्यान्वयन प्रभावकारी नहुँदा रोकथाम चुनौतीपूर्ण हुने सहभागी नरेन्द्र पान्डेको भनाइ थियो।

बाल विवाह रोकथामका उपायबारे छलफल गर्ने क्रममा सहभागीहरूले महिला समूह, विद्यालय, स्थानीय अगुवा तथा समुदायले संयुक्त रूपमा सचेतना अभियान चलाउनुपर्ने सुझाव प्रस्तुत गरे। उनीहरूले बाल विवाह एक बहुआयामिक सामाजिक समस्या भएकाले यसको समाधानका लागि समुदायमै आधारित सचेतना, आर्थिक सशक्तीकरण, शिक्षा विस्तार, कानुनी कार्यान्वयन र सामाजिक धारणाको परिवर्तन आवश्यक रहेको बताए।

कार्यक्रमको सहजीकरण सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुश्वाहाले गरे। उनले बाल विवाहको बढ्दो समस्या, त्यसका कारण तथा रोकथामका उपायबारे समुदायस्तरमै छलफल गरी समाधानको बाटो खोज्ने उद्देश्यका साथ संवाद कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
