मङ्सिर १०, जनकपुरधाम :जनकपुरधामस्थित बाह्रविघा मैदानमा मगलबर राति भएको भगदडमा कयौं श्रद्धालु घाइते भएका छन्। विवाहपञ्चमी मेलाका लागि भारत तथा आसपासका क्षेत्रबाट आएका भक्तजनहरू बाह्रविघा मैदानमा विश्राम गरिरहेका बेला अचानक भगदड भएको हो।
स्थानीयका अनुसार सुरक्षा व्यवस्थामा कमजोरी भइरहेको बेला केही चोरहरूले श्रद्धालुहरूको सामान चोरी गरिरहेकाले तनावको अवस्था सिर्जना भयो। एक जनाले चोरी गरिरहेको देखेपछि करायाँसँगै भीडमा अफरा–तफरी मच्चिएर भगदड भएको बताइएको छ।
घटनामा घाइते भएका श्रद्धालुहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। साथै, कयौं भक्तजनले आफ्ना सामान चोरी भएको गुनासो व्यक्त गरेका छन्।श्रद्धालुहरूले सुरक्षा निकायको चरम लापरबाहीका कारण यस्तो दुर्भाग्यपूर्ण घटना भएको भन्दै कडा आलोचना गरेका छन्।
