काठमाडौँ :आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतदान केन्द्र तथा म्यादी प्रहरीको सङ्ख्या यकिन गर्न सम्बद्ध निकायहरूले तयारी तीव्र बनाएका छन् । यसअघिको अनुमानभन्दा नयाँ मतदाता उल्लेख्य रूपमा थपिएपछि एकीकृत सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरीको सङ्ख्या अझै बढाउनुपर्ने आवश्यकता देखिएको छ ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले चुनाव सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले चाँडै म्यादी प्रहरी भर्ना प्रक्रिया सुरू गर्ने जानकारी दिनुभयो । मतदाताको नयाँ सङ्ख्यालाई आधार मानेर म्यादी प्रहरीको संख्या समायोजन हुने बताइएको छ ।
यसैगरी, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एआईजी अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशीलता हेरी जिल्ला सुरक्षा समिति मार्फत म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
कुल ४० दिन खटिने म्यादी प्रहरीले प्रहरी जवानको समान आधारभूत तलब, लत्ताकपडा, यातायात खर्चलगायत सुविधा पाउनेछन् । आगामी चुनावका लागि नेपाल प्रहरीले ७१ हजारभन्दा बढी स्थायी प्रहरी खटाउने तयारी गरेको समेत काफ्लेले जानकारी दिनुभयो ।
२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । सो समयमा १० हजार ८९२ मतदान स्थलअन्तर्गत २२ हजार २२७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र तोकिएका थिए । यसपालि मात्र ८ लाखभन्दा बढी नयाँ मतदाता थपिएकोले चुनाव व्यवस्थापनमा आवश्यक जनशक्ति वृद्धि अनिवार्य देखिएको छ ।
