काठमाडौँ :सरकारले कृषि क्षेत्रको दिगो विकासका लागि देशव्यापी कृषि सर्वेक्षण शुरू गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सबै ७५३ स्थानीय तह, प्रदेशका कृषि मन्त्रालय तथा सम्बन्धित निकायहरूको समन्वयमा विशाल तथ्याङ्क सङ्कलन अभियान सञ्चालनमा ल्याएको हो।
तथ्याङ्क संकलन प्रक्रियामा दोहोरो गणना हुन नदिई एकद्वार प्रणाली अवलम्बन गरिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले जानकारी दिए। उहाँका अनुसार कृषि उत्पादन, पशुपालन, उत्पादन लागत, बजार व्यवस्थापन, किसानको आम्दानी, सिँचाइ र पूर्वाधारको अवस्थालगायत विस्तृत विषयमा तथ्याङ्क सङ्कलन गरिँदैछ।
सर्वेक्षणका लागि गणकहरू किसानसँग प्रत्यक्ष भेट गरी विवरण लिँदैछन्। नमूना विधिबाट पहिलो चरणमा ६ लाख किसान छनोट गरिने र तीमध्ये ५१ हजार किसानबाट विस्तृत जानकारी संकलन गरिने रेग्मीले बताए। यस प्रक्रियामार्फत किसानको अनुभव, सरकारका सेवा-सुविधामा उनीहरूको पहुँच तथा कृषि क्षेत्रका प्रमुख समस्या पहिचान गरिनेछ।
राष्ट्रिय जनगणना र कृषि गणनापछि सञ्चालन भइरहेको यो कृषि सर्वेक्षणलाई राष्ट्रिय महत्वको कार्यक्रमका रूपमा लिइएको छ। देशभरबाट प्राप्त तथ्याङ्कको विश्लेषणपछि अन्तिम प्रतिवेदन सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।
सर्वेक्षण प्रभावकारी बनाउनका लागि स्थानीय तहका कर्मचारीलाई तालिम तथा सीप अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले उल्लेख गरेको छ। वैज्ञानिक आधारमा कृषि नीति तथा आयोजना निर्माणका लागि यो सर्वेक्षण महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
