मङ्सिर १२, काठमाडौं : सडक बोर्डले देशभरका २२ सडक खण्डबाट पुनः सडक उपभोग दस्तुर (टोल ट्याक्स) उठाउने तयारी थालेको छ। पाँच वर्षपछि टोल संकलन प्रक्रिया पुनः सुरु गर्न लागिएको बोर्डले जनाएको छ। हाल भैरहवा–भुमही सडक खण्डमा मंसिर १ गतेदेखि पुरानै दरमा टोल ट्याक्स उठाउन थालिएको छ, जसअनुसार ठूला सवारीले ३० रुपैयाँ र साना चारपांग्रे सवारीले २० रुपैयाँ तिरिरहेका छन्।
कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार निकट भविष्यमै नारायणगढ-हेटौंडा, मुग्लिन-नारायणगढ, मुग्लिन-पोखरा तथा वीरगञ्ज-पथलैया सडक खण्डमा समेत टोल गेट स्थापना गरिने तयारी भइरहेको छ। कोभिड-१९ का कारण रोकिएको टोल संकलन फेरि विस्तार गर्न लागिएको हो।
२०८१ जेठ १७ मा मन्त्रिपरिषद्को बैठकले ‘सडक उपभोग दस्तुर उठाउने कार्यविधि, २०८१’ स्वीकृत गरे पनि तत्काल लागू भएको थिएन। यस्तै, २०८२ साउन २६ मा मन्त्रीपरिषद्ले नागढुंगा सुरुङमार्गको टोल दर समेत तोकिसकेको छ। सुरुङमार्ग प्रयोग गर्दा काठमाडौं भित्रिने र बाहिरिने दुवै अवस्थामा फरक शुल्क तिर्ने व्यवस्था गरिएको छ।
नेपालमा पहिलोपटक २०६७ असार १४ मा भैरहवा–भूमही र वीरगञ्ज–पथलैया सडकमा टोल ट्याक्स सुरु गरिएको थियो। त्यसपछि क्रमशः सडकको सूची र दर थपिँदै २०७७ सम्म १५ वटा सडकमा टोल उठाइँदै आएको थियो। पछिल्लो दरअनुसार भारी सवारीले ५५ रुपैयाँ र हलुका सवारीले २५ रुपैयाँ तोकिएको थियो।
अब भौतिक तथा अर्थ मन्त्रालयले प्रस्ताव गरेका ७ नयाँ सडक-मुग्लिन-पोखरा, बुटवल-लमही, लमही-कोहलपुर, कोहलपुर-अत्तरिया, अत्तरिया–गड्डाचौकी, धुलिखेल–तातोपानी र काठमाडौं–तराई द्रुतमार्गमा पनि टोल उठाउने तयारी छ।
बोर्डका अनुसार २२ वटै सडकमा मोटरसाइकल तथा स्कुटरबाहेक सबै प्रकारका सवारीले टोल ट्याक्स तिर्नुपर्नेछ। केसीका अनुसार १० वर्ष पुरानो दर भएकाले करिब ३ प्रतिशत वार्षिक वृद्धिदर अनुसार टोल दर संशोधन गरी मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको छ।
सडकको अवस्थासुधार र यातायात व्यवस्थापन प्रभावकारी बनाउन टोल ट्याक्स आवश्यक रहेको बोर्डको भनाइ छ।
