बारामा पानी उद्योगका व्यवस्थापकको घाँटी रेटेर हत्या

सखीखबर डट कम
पाठक संख्या - 253
पढ्न लाग्ने समाय 1 मि.

मङ्सिर १२, बारा : बाराको पर्सौनी गाउँपालिका-६ भलुहीस्थित किरण वेभरेज नेपाल प्रालिमा कार्यरत एक व्यवस्थापकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। सर्लाही, धनकौलका ४२ वर्षीय रामनरेश सिंहको शव शुक्रबार बिहान खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिए।

वीरगंज–कलैया सडकखण्ड नजिकैको भलुही चोकस्थित खोल्सामा स्थानीयले सिंहको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार शवको प्रकृति हेर्दा उनको बिहीबार राति हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। शव भेटिएको स्थान उद्योग नजिकै रहेकाले उद्योगभित्रै हत्या गरी बाहिर फ्याँकिएको हुनसक्ने प्रहरीको आशंका छ।

मृतकका आफन्त रामकिशोरका अनुसार सिंह विहीबार साँझ करिब ७ बजे वीरगंजबाट उद्योग पुगेका थिए। करिब ८ बजेतिर अज्ञात समूहले उद्योगमा पसेर सिसिटिभी क्यामेराका तार काटेर सिंहको हत्या गरेको बताइएको छ। हत्या पछि शवलाई उद्योग बाहिर केही दुरीसम्म घिसारेर सानो खाडलमा फालिएको र हत्यामा संलग्न समूह फरार भएको आफन्तले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनाबारे प्रहरीलाई शुक्रबार बिहान करिब ८ बजे मात्र जानकारी आएको थियो। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगि अनुसन्धान अघि बढाइएको छ। मृतक सिंहको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा लगिएको प्रवक्ता पण्डितले बताए।प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ

शेयर गर्नुहोस