मधेश प्रदेशकी मन्त्री अन्सारीद्वारा संघीय गृहमन्त्रीसँग विशेष सुरक्षा-संवाद

सखीखबर डट कम
पाठक संख्या - 263
पढ्न लाग्ने समाय 1 मि.

मङ्सिर १२, काठमाडौँ :मधेश प्रदेशकी गृह, कानुन तथा सञ्चारमन्त्री तथा प्रदेशसभा सदस्य विमला अन्सारीले संघीय गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग विशेष राजनीतिक तथा सुरक्षा संवाद गरेकी छन्। गृह मन्त्रालयमा भएको उक्त भेटमा मधेश प्रदेशको शान्ति–सुरक्षा अवस्था, अपराध नियन्त्रण, स्थानीय प्रशासन र सुरक्षा निकायबीचको समन्वय, सामाजिक सद्भाव तथा प्रदेश–संघीय सहकार्यबारे विस्तृत छलफल भएको बताइएको छ।

संवादका क्रममा मन्त्री अन्सारीले प्रदेशमा देखिएका सुरक्षा चुनौतीहरू तथा प्रशासनिक समन्वयका समस्याबारे विस्तृत जानकारी गराउँदै संघीय सहयोग आवश्यक रहेको धारणा राखिन्। उनले प्रहरी समायोजन ऐन ढिलाइ हुँदा प्रदेशको सुरक्षा व्यवस्थापन प्रभावित भइरहेकाले ऐन छिटो अघि बढाउन संघीय सरकारलाई आग्रह गरिन्। समायोजन कार्यान्वयन भएपछि सेवा तथा सुरक्षा वितरण अझ प्रभावकारी हुने उनको भनाइ थियो।

गृहमन्त्री अर्यालले केन्द्र सरकार मधेश प्रदेशको शान्ति–सुरक्षा सुदृढीकरणमा पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेश–संघीय सहकार्यलाई अझ मजबुत बनाउन सरकार तत्पर रहेको आश्वासन दिए। साथै उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता दोहोर्याए।

हालै विभिन्न स्थानमा देखिएका तोडफोड तथा सार्वजनिक–निजी सम्पत्तिमा भएका क्षतिप्रति मन्त्री अन्सारीले गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटनामा प्रतिगामी तत्वको संलग्नता हुनसक्ने आशंका व्यक्त गरिन्। उनले सबै तहका सरकार तथा सुरक्षा निकायलाई सतर्कता अपनाउन आग्रहसमेत गरिन्।

शेयर गर्नुहोस