बारामा पानी उद्योगका व्यवस्थापक हत्यामा संलग्न दुई अभियुक्त १८ घण्टामै पक्राउ

सखीखबर डट कम
पाठक संख्या - 316
पढ्न लाग्ने समाय 1 मि.

मङ्सिर १३, बारा:  बाराको प्रसौनी गाउँपालिका–६ स्थित किरण वेभरेज प्रालि पानी उद्योगमा कार्यरत प्रबन्धक रामकिशोर सिंहको हत्यामा संलग्न दुई जना अभियुक्त १८ घण्टाभित्रै पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष टोलीले फरार अवस्थामा रहेका उनीहरूलाई खोजी–अनुसन्धानका आधारमा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकालाई प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ। अनुसन्धान चलिरहेको भएकाले दुवै अभियुक्तको नाम–पहिचान सार्वजनिक नगरिएको प्रहरी निरीक्षक तथा कार्यालयका निमित्त प्रवक्ता खेमप्रसाद नेपालले बताए। उनका अनुसार, “आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गरिनेछ।”

सर्लाहीको धनकौल गाउँपालिका–२ निवासी ४२ वर्षीय रामकिशोर सिंहलाई बिहीबार राति उद्योगदेखि करिब ५० मिटर उत्तर धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको थियो। रातिको समयमा आक्रमणमा परेका सिंहको शव शुक्रबार बिहान स्थानीयले देखेपछि प्रहरीले खबर पाएको थियो।

घटनाको सूचना पाएपछि प्रहरीले मुचुल्का उठाउँदै हत्या स्थल वरपर व्यापक खोजतलास सञ्चालन गरेको थियो। सोही क्रममा प्राप्त सूचनाको आधारमा प्रहरीले छोटो समयमा अभियुक्तसम्म पुग्न सफल भएको जनाएको छ। घटनाको कारण, योजनाबद्धता तथा अन्य सम्भावित संलग्नताबारे अनुसन्धान तीव्र गतिमा अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

शेयर गर्नुहोस