विश्वासको मत अघि नै मधेश मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा

सखीखबर डट कम
पाठक संख्या - 360
पढ्न लाग्ने समाय 1 मि.

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। नेपाल संविधानको धारा १६८(४) र प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४३(४) अनुसार विश्वासको मत लिन प्रस्तुत भएका यादवले सोही अवसरमा राजीनामा घोषणा गरेका हुन्।

माथिल्लो तहबाट झनझटपूर्ण नियुक्ति भएको दाबी गर्दै मुख्यमन्त्री यादवले आफ्नो नियुक्तिलाई ‘असंवैधानिक’ भन्दै आलोचना गरे। उनले मधेश भवनमा भएको अभद्र व्यवहार, झण्डा तथा गमला फाल्ने, कर्मचारी तथा प्रहरीमाथि हातपातजस्ता गतिविधि प्रदेश राजनीतिमा गम्भीर अव्यवस्था र अराजकताको संकेत भएको बताए।

‘बाध्यात्मक परिस्थितिमा मुख्यमन्त्री बन्नुपरेको थियो, विश्वासको मत पाउनु-नपाउनु भन्दा पनि चार सदस्यीय मन्त्रीमण्डलमार्फत जनताप्रति उत्तरदायी सरकार बनाउनु नै मेरो पहिचान हो,’ यादवले प्रदेशसभा बैठकमा भने।

विश्वासको मत माग्दै गर्दा उनले असंवैधानिक मुख्यमन्त्री नियुक्तिको नाममा गरिने बलजफती र नौटंकी जनताले स्वीकार्न नसक्ने दाबी गरे। साथै, उनले संघीयताको नाममा मधेश सरकार गठनका लागि पनि काठमाडौंको मुख ताक्ने प्रवृत्ति मधेशवादी शक्तिलाई नै खोक्रो बनाउँदै गएको आरोप लगाए।यससँगै मधेश प्रदेश राजनीतिक रूपले पुनः नयाँ समीकरणतर्फ उन्मुख हुने संकेत देखिएको छ।

 

शेयर गर्नुहोस