चितवन, मङ्सिर १८ : पर्यटकीय क्षेत्र सौराहामा घुम्न पुगेकी एक किशोरीको होटलको चौथो तलाबाट खसेर मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ की १८ वर्षीया स्नेहा पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ। उनी सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत थिइन् र विद्यालयको शैक्षिक भ्रमणका क्रममा सौराहा पुगेकी हुन्।
प्रहरीका सूचना अधिकारी रविन्द्र खनालका अनुसार पाख्रिन पूर्वी चितवनको रत्ननगर नगरपालिका–६ सौराहास्थित पार्क साइड होटलको चौथो तलाको झ्यालबाट गएराति करिब ११ बजे खसेकी थिइन्। गम्भीर घाइते अवस्थामा उनीलाई तत्काल रत्ननगर बकुहलर अस्पताल पुर्याइएको थियो, तर उपचारको क्रममा ११:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
