जनकपुरधाम, मंसिर १९ :कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (बर्दिबास, महोत्तरी) द्वारा आयोजना गरिएको कृषि प्रयोगशाला सम्बन्धी एक हप्ते तालिम सफलतापूर्वक सम्पन्न भएको छ। मंसिर १४ गतेदेखि १९ गतेसम्म राष्ट्रिय धान अनुसन्धान कार्यक्रम, धनुषामा सञ्चालन भएको तालिममा माटो, बाली तथा कृषि प्रयोगशालामा प्रयोग हुने प्रविधि र परीक्षण विधिबारे सहभागीहरूलाई व्यावहारिक तथा सैद्धान्तिक रूपमा प्रशिक्षण प्रदान गरियो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि विश्व बैंकका प्रतिनिधि, प्रमुख संयोजक तथा आयोजना प्रमुख डा. राजेश सह र विशेष अतिथि राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक मथुरा यादव सहभागी थिए। तालिममा बरिष्ठ वैज्ञानिक मोहम्मद फरद अली, सुन्दर श्रेष्ठ, उमेश साह, डा. पल्बी साहलगायत प्रशिक्षकहरूले माटो परीक्षण पद्धति, पोषक तत्व पहिचान, प्रयोगशाला विश्लेषण प्रक्रिया तथा कृषि स्वास्थ्यसँग सम्बन्धित विषयमा विस्तृत मार्गदर्शन गरे।

मधेस प्रदेशका विभिन्न स्थानीय तहबाट २३ जना कृषि प्राविधिकहरूको सक्रिय सहभागितामा सम्पन्न तालिमबारे आयोजक राजेश ठाकुरले जानकारी दिए। प्रशिक्षणका क्रममा बरिष्ठ वैज्ञानिक मोहम्मद फरद अलीले कीरापतङ्गी तथा रोग नियन्त्रणका आधुनिक उपायबारे प्रस्तुति राखे भने विश्व बैंककी प्रतिनिधि रेनु क्षेत्रीले परियोजनाले स्थानीय तहका किसानका प्राविधिक समस्याहरू समाधान गर्न सहयोग गर्दै आएको उल्लेख गरिन्।

सो तालिममा फेटा गाउँपालिकाका कृषि प्राविधिक सन्जय कुश्वाहाले किसानका समस्या पहिचान र समाधानमा प्रयोगशालाको भूमिका महत्वपूर्ण रहेको बताउँदै आफ्नै प्रयोगशालाबाट माटो र बालीसम्बन्धी समस्याहरू विश्लेषण गरी समाधानमा सहयोग गर्ने योजना प्रस्तुत गरे। संयोजक मथुरा यादवका अनुसार वैज्ञानिक खेती प्रविधि, माटो परीक्षण तथा उत्पादन वृद्धि सम्बन्धी ज्ञान विस्तार परियोजनाको मुख्य उद्देश्य हो। साथै, आयोजना प्रमुख डा. राजेश सहले कृषि तथा पशुपन्छी सेवा केन्द्रमार्फत सेवा वितरण सुधार गर्ने योजनामा मन्त्रालय अघि बढिरहेको बताएका छन्।


