धनुषा मंसिर १९:कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (बर्दिबास, महोत्तरी) द्वारा १२औँ विश्व माटो दिवस विविध कार्यक्रम तथा गतिविधिसहित भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख डा. राजेश सह, प्रमुख संयोजक तथा आयोजक राजेश ठाकुर, प्रमुख अतिथि World Bank की प्रतिनिधि रेनु क्षेत्री र विशेष अतिथि राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक मथुरा यादव रहेका थिए।
मंसिर १४ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको प्रयोगशाला–केन्द्रित तालिममा बर्सियाे वैज्ञानिक महम्द फरद अलि, सुन्दर श्रेष्ठ, उमेश साह, डा. पल्बी साहलगायत विशेषज्ञ प्रशिक्षक रहेका थिए। तालिममा मधेस प्रदेशका विभिन्न स्थानीय तहबाट २३ जनाको सहभागिता रहेको आयोजक ठाकुरले जानकारी दिए। कार्यक्रमको मूल नारा ‘स्वस्थ माटो, स्वस्थ गाउँ–शहर’ रहेको थियो।
कृषि अनुसन्धान, माटो परीक्षण र वैज्ञानिक व्यवस्थापनका विषयमा केन्द्रित तालिमले स्थानीय तह तथा कृषि प्राविधिकलाई व्यावहारिक रूपमै सुदृढीकरण गरेको आयोजक राजेश ठाकुरले बताए। उनले यस वर्षको दिवसले माटो संरक्षण, वैज्ञानिक व्यवस्थापन र दीगो उपयोगबारे जनस्तरमा जागरूकता विस्तारमा विशेष प्रभाव पार्ने विश्वास व्यक्त गरे।

माटो परीक्षणमा फस्फोरस र पोटासको असन्तुलन धेरै किसानमा देखिन थालेको भन्दै किसान मनोज कुमार सिंहले कृषिलाई अझ बढी अनुसन्धानमुखी बनाउन आग्रह गरे। सूक्ष्म पोषक तत्वतर्फ जिंक, बोरोन र मोलिब्डेनमको कमी सामान्य रूपमा देखिने गरेको तथा पूर्वी क्षेत्रमा बोरोन अभाव विशेषरूपमा रहेको जानकारी बागमती नगरपालिकाका कृषि प्राविधिक हिमालबहादुर साहले प्रस्तुत गरे।

राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमका संयोजक मथुरा यादवका अनुसार जैविक उर्वरकको प्रोत्साहन, माटो व्यवस्थापनमा सुधार, टिकाउ कृषि अभ्यासको विस्तार र माटो उर्वराशक्ति पुनर्स्थापनासहित कृषिजन्य उत्पादनमा दिगोपन सुनिश्चित गर्नु दिवसको मुख्य उद्देश्य रहेको छ।
परियोजना प्रमुख डा. राजेश सहले रासायनिक अवशेष तथा विषादीको दुष्प्रभाव न्यूनीकरण गर्दै भविष्यका पुस्ताका लागि स्वस्थ र उर्वर माटो हस्तान्तरण गर्ने लक्ष्यसहित कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए।
