माग पत्र प्रमाणीकरणमा नक्कली कागजात पठाइने क्रम बढेपछि मलेसियास्थित नेपाली दूतावासको सतर्कता आग्रह

सखीखबर डट कम
पाठक संख्या - 223
पढ्न लाग्ने समाय 2 मि.

काठमाडौं : मलेसियामा रोजगारका लागि मागपत्र प्रमाणीकरणसम्बन्धी नक्कली कागजात प्रयोग गरी ठगी गर्ने गतिविधि बढ्दै गएपछि मलेसियास्थित नेपाली राजदूतावासले सावधानी अपनाउन आग्रह गरेको छ। दूतावासले शुक्रबार आफ्नो साप्ताहिक फेसबुक कार्यक्रममार्फत नेपाल तथा मलेसियामा संलग्न म्यानपावर कम्पनी र व्यक्तिहरूलाई सचेत रहन अनुरोध गरेको हो।

दूतावासका अनुसार विभिन्न ब्यक्ति तथा समूहले मागपत्र प्रमाणीकरणका नाममा अनलाइन प्रणालीमा प्रविष्ट गरिएका कागजातको स्क्रिनसट सम्पादन (इडिट) गरी मेनपावर व्यवसायी तथा व्यक्तिहरूलाई पठाई झुक्याउने गरेको पाइएको छ। यस्तै, मलेसियाको गृह मन्त्रालय (KDN) ले जारी गर्ने एउटै केडिएन नम्बर प्रयोग गरी कागजात नक्कली रूपमा देखाएर आर्थिक प्रलोभनमा पार्ने कार्य भइरहेको दूतावासले जनाएको छ।

अनलाइन मागपत्र प्रविष्टि गर्ने जिम्मेवारी रोजगारी दिने कम्पनीको भए पनि केही अवस्थामा युजर नेम र पासवर्ड अनधिकृत व्यक्तिको हातमा पुगेपछि रोजगारदाताको जानकारीबिना नै मागपत्र अपलोड हुने गरेको दूतावासको भनाइ छ। नक्कली कागजातबाट उत्पन्न हुन सक्ने कानुनी तथा आर्थिक जोखिमको जिम्मेवारी सम्बन्धित रोजगारदाता र म्यानपावर कम्पनीले वहन गर्नु पर्ने भएकाले कामदार छनोट अघि एकपटक दूतावाससँग पुष्टि लिन अनुरोध गरिएको छ। दूतावासले आधिकारिक रूपमा प्राप्त कागजातको प्रमाणीकरण भने नियमित रूपमा भइरहेको स्पष्ट पारेको छ।

हाल मलेसियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन्। नेपालीको प्रमुख रोजगारी गन्तव्य बनेको मलेसियामा म्यानुफ्याक्चरिङ क्षेत्रप्रति चासो बढ्दै गएको छ। तर केही समूहले ‘म्यानुफ्याक्चरिङ डिमान्ड खुल्यो’ भन्दै रकम असुली गर्न थालेपछि दूतावासले केही समयअघि पनि भ्रमपूर्ण सूचनामा विश्वास नगर्न चेतावनी जारी गरेको थियो। काठमाडौंका केही म्यानपावर कम्पनीहरूले अन्तर्वार्ता लिएर रकम उठाएको जानकारी पाएपछि दूताबासले पुनः सावधानी अपनाउन आग्रह गरेको हो।

मलेसियामा सेमी कन्डक्टर (विद्युतीय तथा इलेक्ट्रोनिक्स), पेट्रोलियम, रसायन, रबर तथा प्लास्टिक, खाद्य तथा पेय पदार्थ, सुर्तीजन्य उद्योगलगायत क्षेत्र म्यानुफ्याक्चरिङअन्तर्गत पर्दछन्, जहाँ नेपाली कामदारको उल्लेखनीय उपस्थिति रहेको छ। आगामी दिनमा थप ठगी गतिविधि रोकथाम र प्रष्ट सूचना प्रवाहका लागि सम्बन्धित सबै पक्षलाई दूतावासले संयमता र सतर्कतासहित अघि बढ्न आग्रह गरेको छ।

शेयर गर्नुहोस