भन्सार ऐन २०८२ विरुद्ध देशभर भन्सार एजेन्टहरूको ‘पेन डाउन’ आन्दोलन

सखीखबर डट कम
पाठक संख्या - 194
पढ्न लाग्ने समाय 1 मि.

काठमाडौं मङ्सिर २३:भन्सार एजेन्ट महासंघ नेपालले भन्सार ऐन २०८२ प्रति असन्तुष्टि जनाउँदै आज (मंगलबार) देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’सहित विरोध कार्यक्रम सञ्चालन गरेको छ। महासंघका अनुसार नयाँ ऐनमा समावेश गरिएका केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पर्ने देखिएकाले विरोध गर्न बाध्य भएको हो।

महासंघका अध्यक्ष प्राचिनकुमार थैवलका अनुसार सरकारद्वारा पारित भन्सार ऐन २०८२ ले एजेन्टहरूको भूमिकामा अनावश्यक हस्तक्षेप मात्र नगरी व्यापारिक प्रक्रियामा समेत जटिलता थपिने अवस्थाको सिर्जना गर्छ। उनले कार्यान्वयन अघि आवश्यक संशोधन तथा संवादमार्फत समस्या समाधान गर्न सरकारसँग माग गरे।

महासंघका शाखाहरूले आज देशभरका भन्सार कार्यालयहरूमा कार्यस्थलमा उपस्थित भई पनि काम नगर्ने ‘पेन डाउन’ कार्यक्रममार्फत ऐन संशोधनको दबाब सिर्जना गरेका छन्। महासंघले माग सम्बोधन नभए चरणबद्ध रुपमा आन्दोलन तीव्र बनाइने चेतावनी दिएको छ।

शेयर गर्नुहोस