अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

सखीखबर डट कम
पाठक संख्या - 193
पढ्न लाग्ने समाय 2 मि.

मङ्सिर २४, एजेन्सी:अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा कडाईका साथ प्रतिबन्ध लगाएको छ। बालबालिकाको मानसिक स्वास्थ्य तथा अनलाइन सुरक्षामाथि बढ्दो चिन्तालाई ध्यानमा राख्दै सरकारले बुधबारदेखि लागू हुनेगरी नयाँ कानुन कार्यान्वयनमा ल्याएको हो।

नयाँ कानुनअनुसार १६ वर्षमुनिका व्यक्तिहरूले फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स (ट्वीटर), थ्रेड, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता प्रमुख १० सामाजिक सञ्जाल प्ल्याटफर्म प्रयोग गर्न पाउने छैनन्। रोयटर्सका अनुसार यो व्यवस्था बालबालिकालाई अनलाइन सामग्रीका नकारात्मक असरबाट जोगाउन विश्वकै पहिलो ठूलो कानून कदमका रूपमा हेरिएको छ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो निर्णयलाई ‘अस्ट्रेलियाली अभिभावकका लागि गर्वको दिन’ भन्दै यसलाई देशले अनुभव गर्न लागेको ठूलो सामाजिक तथा सांस्कृतिक परिवर्तनका रूपमा व्याख्या गरेका छन्। धेरैजसो अभिभावकले यो कदमको समर्थन गर्दै सरकारलाई धन्यवाद दिएका छन्।

सरकारले कार्यान्वयन कडाइका लागि सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर पत्ता लगाउने जिम्मेवारी दिएको छ। अब नयाँ खाता खोल्दा प्लेटफर्महरूले सेल्फीमार्फत उमेर अनुमान, परिचयपत्र वा बैंक विवरणजस्ता प्रमाण पेश गर्न माग गर्न सक्नेछन्। प्रतिबन्ध तोडिएमा सम्बन्धित प्ल्याटफर्मलाई झन्डै ५ करोड अस्ट्रेलियन डलरसम्म जरिवाना लाग्न सक्छ।

कानुन लागू हुनु अघि नै करिब १० लाख बालबालिकाले ‘गुडबाई’ भन्दै आफ्ना सामाजिक सञ्जाल खाता बन्द गरेको बताइएको छ। विरोधस्वरूप धेरै युवाले #seeyouwhenim16 ह्यासट्यागसहित अभियान सञ्चालन गरिरहेका छन्।

यद्यपि, केही किशोर–किशोरीले यस निर्णयले उनीहरूलाई विश्वसँगको सम्पर्कबाट टाढा पुर्‍याउने प्रतिक्रिया दिएका छन्। १४ वर्षीया एनी वाङले विशेष समुदाय, एलजीबीटीक्यूआई+ समूह वा एक्लोपन महसुस गर्ने युवाहरू झन् अलगावमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छन्।

गलत सूचना, साइबर बदमासी, शरीरबारेको हानिकारक सामग्री तथा मानसिक स्वास्थ्यमा पर्ने असरका कारण अस्ट्रेलियाले यस्तो कदम चालेको मानिएको छ। अब अन्य देशहरुले पनि यो मोडेलको अध्ययन गर्न रुचि देखाएका छन्, जसमा डेनमार्क, न्यूजिल्यान्ड र मलेसिया प्रमुख रहेका छन्।

शेयर गर्नुहोस