अन्तर्राष्ट्रिय पर्वत दिवस : हिमनदी पग्लिँदै, पर्वतीय जीवन उच्च जोखिममा

सखीखबर डट कम
पाठक संख्या - 188
पढ्न लाग्ने समाय 1 मि.

काठमाडौँ मङ्सिर २५ :हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने उद्देश्यसहित आज विश्वभर अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ। पर्वतीय समुदाय, वातावरण संरक्षण तथा दिगो विकासका पक्षमा सहकार्य निर्माण गर्ने लक्ष्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाइने गरिएको छ।

रोमस्थित राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को प्रधान कार्यालयमा पनि पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रमहरू आयोजना भइरहेका छन्।
राष्ट्रसंघका अनुसार विश्वका करिब दुई अर्ब मानिसहरू पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा निर्भर छन्। तर पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेपछि पानीका स्रोतहरू समेत संकटमा पर्न थालेका छन्।

विश्वभर द्रुत गतिमा हिमनदी पग्लिन थालेका छन् र तापक्रम निरन्तर बढ्दै जाँदा अन्य हिमनदीसमेत पूर्ण रूपमा हराउने खतरा बढ्दै गएको वैज्ञानिकहरूको भनाइ छ। साथै, विश्वका एक करोड ५० लाखभन्दा बढी मानिस हिमनदी पग्लेर बनेका ताल फुट्ने (GLOF) सम्भावित जोखिमका कारण उच्च संवेदनशील क्षेत्रमा रहेका छन्।

यस दिवसले यस्ता पर्यावरणीय जोखिमबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड-पर्वत संरक्षण, दिगो पर्वतीय विकास र सुरक्षित भविष्यका लागि विश्वव्यापी सहकार्यको आवश्यकता औँल्याएको छ।

शेयर गर्नुहोस