बारा, मंसिर २५ : Girls First Fund को आर्थिक सहयोगमा संचालित Preventing and Responding to Child Marriage and Early Unions Project अन्तर्गत सखी संस्थाले विद्यालय छोडेर घरमै बसिरहेका किशोरीहरूलाई लक्षित गर्दै फेटा-१ त्रिवेणी टोलमा सिलाइ–कटाइ तालिम केन्द्र स्थापना गरी आज औपचारिक रूपमा उद्घाटन गरेको छ।

नयाँ स्थापना गरिएको केन्द्रमा आठ वटा सिलाइ मेसिन राखी २७ जना किशोरीलाई तालिम दिने योजना रहेको सखी संस्थाकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक प्रियंका कुमारी कुशवाहाले जानकारी दिइन्। उनले घरमै बसिरहेका किशोरीहरूलाई सीपसँग जोडेर उनीहरूलाई आत्मनिर्भर बनाउनु तथा बालविवाहबाट जोगाउनु परियोजनाको मुख्य उद्देश्य रहेको बताइन्।

उद्घाटन समारोह सखी संस्थाकी कार्यकारी निर्देशक प्रियंका कुमारी कुशवाहाको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि गोपिचन महतो, विशिष्ट अतिथि उमेश दुबे, राम एकबाल शाह तथा अतिथिहरू प्रेम शाह, मुन्नादास, मोहनदास, योगेश दास, दीपक दास, हिरालाल दास लगायतका सहभागी वक्ताहरूले तालिम केन्द्रको सफलताको शुभकामना व्यक्त गरे।
बालविवाह रोकथामका लागि सखी संस्थाले विद्यालय जाने किशोरीहरूका लागि ट्युसन कक्षा, कम्प्युटर कक्षा, कराते प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यिनै गतिविधिलाई थप विस्तार गर्दै विद्यालय छोडेर घरमै बसेका किशोरीहरूलाई समेत सीपमूलक तालिममार्फत सशक्त बनाउने उद्देश्यले सिलाइ-कटाइ तालिम केन्द्र सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ।

