काठमाडौं:प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले समुदायलाई सबल र सक्षम बनाउँदा विपद् व्यवस्थापन अधिक प्रभावकारी हुने बताएका छन्। सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय संजालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले कुनै पनि विपद् उत्पन्न हुँदा सबैभन्दा पहिले समुदायकै पहुँच र भूमिका महत्वपूर्ण हुने भएकाले स्थानीय तहमा क्षमता अभिवृद्धि अनिवार्य रहेको कुरा संयुक्तरूपमा उठाए।
ई. भट्टका अनुसार प्राधिकरणले समुदायमै आधारित विपद् स्वयंसेवक तयार पार्ने तथा उनीहरूलाई संगठित गर्ने अभियानलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको छ। विपद् जोखिम कम गर्न र उद्धार क्षमतामा सुधार ल्याउन समुदायको सक्रियता नै दीर्घकालीन समाधान भएको उनको भनाइ थियो।

कार्यक्रममा नेपाली सेनाले ग्यासजन्य, तेलजन्य तथा शरीरमा लागेको आगो निभाउने व्यावहारिक प्रदर्शन प्रस्तुत गरेको थियो, जसले सहभागीहरूलाई प्रत्यक्ष बुझाइ र सिकाइ उपलब्ध गराएको आयोजकले उल्लेख गरेको छ।
उद्घाटन सत्र सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय संजालका अध्यक्ष श्यामबाबु कट्टेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा तारकेश्वर खैँजडी भजन समूहले विपद् व्यवस्थापनका सन्देशहरू समेटिएका भजन प्रस्तुत गर्दै सहभागीलाइ सचेतना र प्रेरणाको वातावरण प्रदान गरेको थियो।

