अमर प्रहरी अमृत गुरुङको परिवारसँग गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक कार्कीको भेटघाट

सखीखबर डट कम
पाठक संख्या - 198
पढ्न लाग्ने समाय 1 मि.

काठमाडौँ:माननीय गृह मन्त्री ओमप्रकाश अर्याल तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आज अमर प्रहरी प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग भेटघाट गर्नुभएको छ।

प्रहरी प्रभाग कोटेश्वर, काठमाडौँमा कार्यरत रहनुभएका गुरुङले गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा राष्ट्रका लागि प्राण उत्सर्ग गर्दै अमरत्व प्राप्त गर्नुभएको थियो। सो अवसरमा गृहमन्त्री अर्यालले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रहरी संगठन र राष्ट्रको सेवामा जीवन अर्पण गर्ने वीर सपुतको अभिभावक हुनु गर्वको विषय भएको बताउनुभयो। उहाँले सरकार सधैँ अमर प्रहरीको परिवारसँग साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

त्यस्तै, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अमृत गुरुङको बलिदानलाई नेपाल प्रहरी संगठनले कदापी नबिर्सने प्रतिज्ञा गर्दै उहाँको योगदान प्रहरी इतिहासमा सधैँ स्मरणीय रहने उल्लेख गर्नुभयो।

जेन–जी आन्दोलनका क्रममा अमरत्व प्राप्त गर्नुभएका अमृत गुरुङ कास्की जिल्लाको रुपा गाउँपालिका–५, रामदी घर भएका हुनुहुन्थ्यो। उहाँको जन्म वि.सं. २०५२ साल पौष १० गते भएको थियो भने वि.सं. २०७० साल असोज १५ गतेदेखि नेपाल प्रहरी संगठनमा आवद्ध भई सेवामा रहनुभएको थियो।

भेटघाट कार्यक्रममा गृह सचिव रामेश्वर दंगाल, गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज धिमिरे तथा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समेतको उपस्थिति रहेको थियो।सम्भार nepal police.

शेयर गर्नुहोस