सामाजिक सञ्जालको प्रेम बहानामा विवाहका नाममा भारत जाँदा नेपाली युवती उच्च बेचबिखन जोखिममा

सखीखबर डट कम
पाठक संख्या - 167
पढ्न लाग्ने समाय 3 मि.

काठमाडौं, पौष १ :भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचबिखनको जोखिम पनि बढ्दै गएको छ। सामाजिक सञ्जालमै चिनजान र प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिइ भारततर्फ लाग्ने युवतीहरू बेचबिखनको सञ्जालमा फस्ने सम्भावना उच्च रहेको सरोकारवालाले बताएका छन्।

हालै भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील शान्ति पुनःस्थापना केन्द्र नेपालगञ्जका प्रतिनिधिले शङ्कास्पद अवस्थाका कारण रोकेर परामर्श गर्दा यस्तो वास्तविकता खुलेको हो। परामर्शका क्रममा सामाजिक सञ्जालमै प्रेम सम्बन्ध गाँसिएपछि विवाहका लागि भागेर भारत जान लागेको पुष्टि भएको केन्द्रले जनाएको छ।

शान्ति पुनःस्थापना केन्द्र शाखा कार्यालय नेपालगञ्जकी संयोजक सम्झना चँदाराका अनुसार उद्धार गरिएकामध्ये दाङकी एक युवती १५ वर्षीया नाबालिका हुन् भने अर्घाखाँचीकी युवती २२ वर्षीया हुन्। “सामाजिक सञ्जालमा भएको कुराकानीकै आधारमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न राजी हुनु आफैँमा ठूलो जोखिम हो,” उहाँले भन्नुभयो।

केन्द्रको पहलमा दाङकी नाबालिका युवतीलाई अभिभावकसँग सम्पर्क गराई पारिवारिक पुनर्मिलन गराइएको छ भने अर्घाखाँचीकी युवतीलाई पनि अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ। नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले भारतीय नागरिकसँग नेपाली युवतीको विवाह गराउने प्रक्रियामा कतिपय नेपाली महिलाले समन्वयकारी भूमिका खेल्ने गरेको पाइएको बताउनुभयो।

“भारतीय नागरिकसँग विवाह गरिसकेकी महिलामार्फत नेपालका चिनेजानेका युवतीसँग सामाजिक सञ्जालमा जोडिने गरेको देखिन्छ,” पुरीले भन्नुभयो, “युवती भारत पुगेपछि समन्वय गर्ने नेपाली महिलाले आर्थिक लाभ पाउने भएकाले समस्या बढ्दै गएको हो।” आर्थिक लोभमा आफ्नै देशका चेलीलाई जोखिममा पार्ने प्रवृत्ति चिन्ताजनक रहेको उहाँको भनाइ छ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इञ्चार्ज एवं प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सामाजिक सञ्जालको भरमा घरबाट भागेर भारत पुग्ने महिलाहरू उच्च बेचबिखन जोखिममा पर्ने भएकाले सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो। शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सामाजिक सञ्जालमा देखिने क्षणिक आकर्षण र प्रलोभनले यस्तो जोखिम बढाएको भन्दै सीमा नाकामा कडाइ र सचेतनामूलक कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँका अनुसार भारतीय सहरमा बेचिएका वा अलपत्र परेका नेपाली महिलालाई त्यहाँका सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरी उद्धार गर्दै आएको छ। नेपालगञ्जस्थित जमुनाह नाकामा शान्ति पुनःस्थापना गृहसँगै माइती नेपाल, साथी संस्था लगायत करिब एक दर्जन संघसंस्थाले मानव बेचबिखनविरुद्ध क्रियाशील रूपमा काम गरिरहेका छन्।

शान्ति पुनःस्थापना केन्द्रले मात्रै गत आर्थिक वर्षमा ३९९ जनाको उद्धार गरेको जनाएको छ। केन्द्रका जिल्ला कार्यक्रम संयोजक चँदाराका अनुसार तीमध्ये ३०३ जनालाई सिधैँ अभिभावकको जिम्मा लगाइएको थियो भने ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पु¥याइएको थियो। केन्द्रले बाँकेको नरैनापुर, डुडुवा, जानकी, कोहलपुर र जमुनाह गरी पाँच स्थानमा सूचना तथा परामर्श केन्द्र सञ्चालन गर्दै मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

शेयर गर्नुहोस