पौष २, जनकपुरधाम : मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पौष १ र २ गते जनकपुरधामस्थित प्रदेश सरकारअन्तर्गतका १८ वटा कार्यालयमा कर्मचारीको उपस्थिति तथा तोकिएको पोषाकसम्बन्धी छड्के निरीक्षण गरेको छ । निरीक्षणका क्रममा नियम उल्लङ्घन गर्ने ७२ जना कर्मचारी कारबाहीमा परेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार पौष १ गते ४८ जना र पौष २ गते २४ जना गरी कुल ७२ जना कर्मचारी कारबाहीमा परेका हुन् । कारबाहीमा पर्ने कार्यालयहरूमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालय (१), कृषि ज्ञान केन्द्र (१), प्रदेश वन निर्देशनालय (१), खेलकुद तथा समाज कल्याण मन्त्रालय (९), भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (४), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (३), शिक्षा तथा संस्कृति मन्त्रालय (५), गृह, सञ्चार तथा कानुन मन्त्रालय (१), उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय (८), वन तथा वातावरण मन्त्रालय (६), भौतिक पूर्वाधार विकास मन्त्रालय (५), ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय (३), डिभिजन वन कार्यालय (२), पूर्वाधार विकास कार्यालय (८), भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र (२), प्रदेश लेखा नियन्त्रक कार्यालय (४) र जलस्रोत तथा सिँचाइ विकास डिभिजन (८) रहेका छन् ।
कारबाहीमा परेकामध्ये ५५ जना पुरुष र १७ जना महिला कर्मचारी रहेका छन् । पदगत रूपमा हेर्दा उपसचिव सरह २ जना, शाखा अधिकृत सरह ४१ जना, नायब सुब्बा सरह १६ जना, खरिदार सरह ४ जना, सवारी चालक ३ जना र कार्यालय सहयोगी ६ जना कारबाहीमा परेका हुन् ।
निरीक्षणका क्रममा पूर्वस्वीकृति बेगर अनुपस्थित ३४ जना कर्मचारी भेटिएका छन्, जसमध्ये २२ जना पुरुष र १२ जना महिला रहेका छन् । त्यसैगरी तोकिएको पोषाक नलगाएको अवस्थामा ३८ जना भेटिएका छन्, जसमध्ये ३३ जना पुरुष र ५ जना महिला छन् । साथै २ जना कर्मचारी कार्यालयमा उपस्थित भए पनि हाजिर नगरेको र तोकिएको पोषाक नलगाएको पाइएको छ ।
छड्के निरीक्षण गरिएका कार्यालयहरूमध्ये पशु सेवा तालिम केन्द्रका कर्मचारीहरू भने सबै हाजिर, तोकिएको पोषाकमा उपस्थित रहेको जनाइएको छ । पूर्वस्वीकृति बेगर अनुपस्थित र तोकिएको पोषाक नलगाएका कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी सम्बन्धित निकायमा विवरणसहित पत्राचार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री भरत यादवले सामाजिक सञ्जालमार्फत निरीक्षणलाई निरन्तरता दिइने जानकारी दिँदै बाँकी ७ वटा जिल्लामा समेत टोली खटाइने बताएका छन् । हाजिरी र पोषाकका साथै सेवा प्रवाह र विकास निर्माण कार्यको पनि निरीक्षण तथा अनुगमन गरिने उनले स्पष्ट पारेका छन् ।
