काठमाडौं स्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा पौष ३ गते पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट आयोजना गरेको छ। गण्डकी प्रदेशलाई विशेष केन्द्रमा राख्दै सम्पन्न उक्त कार्यक्रम उत्तर प्रदेश र नेपालबीचको पर्यटन प्रवर्द्धनमा केन्द्रित थियो। यस अवसरमा अन्तर्राष्ट्रिय सहकारी वर्ष पनि मनाइएको थियो।
कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले आफ्नो सम्बोधनमा गण्डकी प्रदेश, विशेषतः पोखरा र मुक्तिनाथ क्षेत्रसँग भारतको बढ्दो पर्यटन सहकार्यको स्वागत गर्नुभयो।
भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा भएको सुधारले अन्तरदेशीय पर्यटनलाई थप गति प्रदान गरेको उल्लेख गर्नुभयो। उहाँले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक पर्यटन परिपथ (सर्किट) हरूको संयुक्त प्रवर्द्धनमार्फत दुवै देशबीचको पर्यटन सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।
उत्तर प्रदेश पर्यटनका सहनिर्देशक श्री दिनेश कुमारले आगामी माघ मेलालाई विशेष रूपमा उल्लेख गर्दै उत्तर प्रदेशका पर्यटन परिपथहरूबारे प्रस्तुति दिनुभयो। साथै उहाँले उत्तर प्रदेशमा पर्यटन नीतिको कार्यान्वयनमा अपनाइएका उत्कृष्ट अभ्यासहरू पनि साझा गर्नुभयो।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दीपकराज जोशीले प्रस्तुतिमार्फत नेपालको पर्यटन क्षेत्रको समग्र अवस्था बारे जानकारी दिनुभयो। उहाँले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूमध्ये भारत सबैभन्दा ठूलो स्रोत मुलुक रहेको उल्लेख गर्दै भारत–नेपाल पर्यटन प्रवर्द्धनका लागि बोर्डले गरेका विभिन्न पहलहरूको जानकारी दिनुभयो।
कार्यक्रमअन्तर्गत आयोजित बीटुबी सत्रमा भारतबाट करिब १० जना र नेपालबाट ६० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलमा विशेष गरी स्थल मार्गबाट हुने अन्तरदेशीय पर्यटन प्रवर्द्धनमा जोड दिइयो। दुवै देशका टुर अपरेटरहरूले बौद्ध परिपथ, वन्यजन्तु तथा साहसिक पर्यटन क्षेत्रमा सम्भावित सहकार्यबारे विचार आदान–प्रदान गरे।
