पौष १०, वीरगंज:चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगंज नाका हुँदै विदेशी मुलुकतर्फ झण्डै ४० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको छ। वीरगंज भन्सार कार्यालयका अनुसार सो अवधिमा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु निर्यात भएका हुन्।
गत आर्थिक वर्षको सोही पाँच महिनाको तुलनामा चालु आवमा निर्यात ८९ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ। गत आवको पाँच महिनामा रु २१ अर्ब १८ करोड मूल्यका वस्तु निर्यात भएका थिए भने यस वर्ष रु १८ अर्ब ७९ करोडले निर्यात बढेको हो।
वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालु आवमा निर्यातमा उल्लेखनीय सुधार देखिएको छ। विवरणअनुसार पाँच महिनामा रु २० अर्ब ७६ करोड मूल्यको भटमासको प्रशोधित तेल निर्यात भएको छ। यस्तै, रु ३ अर्ब ७ करोड मूल्यको फलफूलको जुस, रु २ अर्ब ८७ करोडको सूर्यमुखीको प्रशोधित तेल र रु १ अर्ब ९७ करोडको प्रशोधित पाम तेल निर्यात भएको छ।
यसका साथै रु १ अर्ब ५० करोड मूल्यका विभिन्न किसिमका कपडासमेत निर्यात भएका भन्सार कार्यालयले जनाएको छ। निर्यात वृद्धिसँगै वीरगंज नाका व्यापारिक गतिविधिका हिसाबले थप सक्रिय बन्दै गएको देखिएको छ।
वीरगंज नाका हुँदै पाँच महिनामा झण्डै ४० अर्ब रुपैयाँको सामान निर्यात
शेयर गर्नुहोस
